सिएसआरको ४० प्रतिशतसम्मको रकम भूकम्प प्रभावित क्षेत्रका विद्यालय, अस्पताल र स्वास्थ्य चौकी पुनरनिर्माणमा योगदान गर्न पाउने


काठमाडौँ । राष्ट्र बैंकले २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनरनिर्माणका लागि ४० प्रतिशतसम्म योगदान गर्ने सक्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको पहिलो त्रैमासिक समिक्षाका अनुसार बैंक तथा वित्तीय संस्थाको आर्थिक वर्ष २०७९\८० र २०८०\८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्ने सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरूका पुनरनिर्माणका लागि नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रूपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले रु।२५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिएको छ ।

यस प्रयोजनको लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिने राष्ट्र बैंकले सार्वजनिक गरेको समिक्षामा उल्लेख गरिएको छ ।