ट्रकमा एसी अनिवार्य गर्ने भारत सरकारकाे निर्णय


काठमाडौँ । भारत सरकारले देशभर गुड्ने ट्रकमा एसी क्याबिन अनिवार्य गर्ने भएको छ । सडक यातायात मन्त्रालयले २०२५ देखि सबै नयाँ ट्रकमा एसी क्याबिन राख्ने सूचना जारी गरेको छ ।

पाँच वर्षको प्रयासपछि भारत सरकारले कार्यान्वयनको मिति तय गरेको हाे । भारत सरकारका अनुसार खर्च घटाउन, लामो यात्रा गर्दा चालकको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई न्यूनीकरण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्न यस्तो निर्णय गरेको हो ।

अक्टोबर १, २०२५ मा वा त्यसपछि निर्माण भएका एन २ र एन ३ श्रेणीका सवारी साधनहरूको केबिनमा एयर कन्डिसन प्रणाली जडान गरिने उल्लेख गरिएकाे छ। सबै नयाँ ट्रकहरूमा ड्राइभरहरूका लागि फ्याक्ट्री-फिट एसी क्याबिनहरू हुनु आवश्यक हुने जनाइएकाे छ ।

एन २ श्रेणीमा भारी मालवाहक सवारी साधनहरू समावेश छन् जसको कूल वजन ३.५ टन भन्दा बढी र १२ टन भन्दा कम छ। एन ३ श्रेणीमा १२ टन भन्दा बढी वजन भएका भारी वस्तुहरू समावेश छन्।