विदेशी विनिमय कारोबार गर्ने संस्थाले म्याद सकिएको नब्बे दिनभित्र इजाजतपत्र नविकरण गर्न सक्ने


काठमाडौँ । विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त फर्म, कम्पनी वा संस्थाले म्याद सकिएको नब्बे दिनभित्र इजाजतपत्र नविकरण गर्न सक्ने भएका छन् । तर त्यसको लागि राष्ट्र बैंकलाई विश्वस्त बनाउनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ संशोधन गर्दै कुनै कारणवश इजाजतपत्रप्राप्त संस्थाले म्याद समाप्त हुनु अगावै नवीकरणको लागि निवेदन पेश गर्न नसकेको कुरामा राष्ट्र बैंक विश्वस्त भएमा म्याद समाप्त भएको मितिले नब्बे दिनभित्र समेत सोही बमोजिमको शुल्क लिई राष्ट्र बैंकले इजाजतपत्र नवीकरण गर्न सक्ने उल्लेख गरिएको छ ।

यस्तै, इजाजतपत्रको म्याद समाप्त भएको मितिदेखि एक वर्षसम्म निवेदन दिएमा जरिवाना रकम तिरेर इजाजतपत्र नवीकरण गर्न सकिनेछ । यस्तो जरिवाना रकम प्रति वर्ष २ हजार रुपैयाँ नवीकरण शुल्क हुनेको हकमा एकमुष्ठ २ हजार र प्रति वर्ष ४ हजार नवीकरण शुल्क हुनेको हकमा एकमुष्ठ ४ हजार रुपैयाँ तोकेको छ ।

यसअघिको व्यवस्था अनुसार यस्तो जरिवाना रकम नवीकरण शुल्कका अतिरिक्त प्रत्येक महिनाको लागि नवीकरण शुल्कको दोब्बर रकम रहेको थियो ।