नेप्सेमा ३६ अंकको वृद्धि, कारोबार रकम ४ अर्ब माथि


काठमाडौं । साताको कारोबारको तेस्रो दिन भने सेयरबजारमा हरियाली छाएको छ । साताको कारोबारको पहिलो दिन आइतबार १११ अंकको उछाल आएको बजारमा दोस्रो दिन सोमबार भने १५ अंकले घटेको थियो ।

त्यस्तै तेस्रो दिन आज भने नेप्से परिसूचक ३६ अंकले बढेको छ भने कारोबार रकम ४ अर्ब रुपैयाँ नाघेको छ ।

नेपाल स्टक एक्सचेन्जका(नेप्से)का अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ३६.८६ अंकले बढेर १९८५.४४ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ४.९४ अंकले बढेर ३७४.३६ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १८ करोड ७ लाख ११ हजार ४ सय ८८ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन ४ वटा कम्पनीले सबैभन्दा धेरै कमाएका छन् । ४ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.११ प्रतिशतले घटेको छ ।

कुल २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १ सय ६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजार १ सय ९६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।