डिम्याट खोल्नेको संख्या ६० लाख नाघ्यो, सेयर बजारमा ३५ लाखमात्र सक्रिय


काठमाडौं । देशभर सेयरको डिम्याट खाता खाल्नेको संख्या ६० लाख नाघेको छ । सिडिएससी एण्ड क्लियरिङ लिमिटेडको पछिल्लो तथ्यांक अनुसार हालसम्म ६० लाख ४० हजार १ सय ७८ जनाले डिम्याट खाता खोलेका छन् ।

त्यस्तै मेरो सेयर प्रयोगकर्ताको संख्या पनि ५० लाख ९५ हजार १ सय २५ रहेको सिडीएससी एण्ड क्लियरिङको तथ्यांकमा उल्लेख छ ।

झण्डै ५१ लाख मेरो सेयर प्रयोगकर्तामध्ये ३५ लाख ९७ हजार ९ सय ६० प्रयोगकर्ता सक्रिय रहेका छन् ।

हालसम्म डिम्याट खातामा ११ अर्ब ६८ करोड ११ लाख ६२ हजार ४ सय ४५ कित्ता सेयर रहेको सिडीएससीले जनाएको छ ।
पछिल्लो ३ वर्ष यता डिम्याट खाता खोल्नेको संख्या उल्लेखनीय अनुपातमा बढेको देखिन्छ ।

अनलाइनमार्फत नै सेयर कारोबार, राफसाफ लगायत सुविधा पाइने हुँदा मेरोसेयर र डिम्याट खाता खोल्नेको संख्या उत्साहजनक रहेको सिडीएससी एण्ड क्लियरिङका अध्यक्ष पूर्णप्रसाद आचार्यले बताए ।

आचार्यले भने “पछिल्लो समय बजारको उतारचढाव अनुसार डिम्याट खाता खोल्ने र नवीकरण गर्नेको संख्यामा वृद्धि हुने गरेको छ । बजार बढेको बेला डिम्याट खोल्ने र नवीकरण गर्नेको संख्यामा वृद्धि हुने र बजार घटेको बेला कम हुने गरेको छ, त्यो स्वभाविक पनि होला ।”

यो तथ्यांकलाई हेर्दा पुँजीबजार देशव्यापी रुपमा फैलिएको देखिएको छ । हाल सातै प्रदेश, ७७ ओटै जिल्लामा डिम्याट खोल्ने र मेरो सेयर प्रयोगकर्ताको उपस्थिति उल्लेखनीय रहेको आचार्यले बताए ।

उनका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा डिम्याट र मेरो सेयर प्रयोगकर्ता रहेका छन् ।

उमेर समहको हिसाबले हेर्दा २० देखि ६० वर्षका व्यक्तिहरुको डिम्याट खाता र पुँजीबजारमा प्रवेश बढि छ, यसले के संकेत गर्छ भने अलि परिपक्क व्यक्तिहरु पुँजीबजारमा प्रवेश गरेको देखिन्छ ।

“महिलाको सहभागिता पनि उल्लेख्य छ । “पुँजीबजारमा ४३–ं४४ प्रतिशत महिलाको सहभागिता छ भने ५४–५५ प्रतिशत पुरुषको सहभागिता छ, जसले गर्दा पुँजीबजार समावेशी छ भन्ने हामीलाई लागेको छ,” आचार्यले भने ।

पहिले सेयर कारोबारपछि भौतिक रुपमा डिआइएस सेयर राफसाफ हुने गरेकोमा अहिले अनिवार्य इडिआइएसमार्फत अनलाइन राफसाफ हुने हुँदा सेयर कारोबार गर्न मेरो सेयर भने अनिवार्य नै रहेको छ ।

डिम्याट खाता पनि बैंक खाता जस्तै हो। यस्तो खाता खोल्न धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजिटरी पाटिसिपेन्ट अर्थात् डीपी) सेवाका लागि अनुमति पाएका कम्पनीमा गएर यस्तो खाता खोल्न सकिन्छ।

हाल धितोपत्र ददाल, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर, हस्तान्तरण प्रतिनिधिलगायत संघसंस्थाले बोर्डबाट अनुमति लिएर यस्तो सेवा सञ्चालन गरेका छन्। आफूलाई पायक पर्ने कुनै कम्पनीमा गएर ’डिम्याट’ खाता खोल्नुपर्छ।

पहिले खरिद गरेको सेयर भौतिक (कागजी) प्रमाणपत्रका रूपमा पाइन्थ्यो। त्यो व्यवस्था हटेकाले अहिले विद्युतीयरूपमा डिम्याट खातामा जम्मा हुन्छ। डिम्याट खाता खोल्दा कम्पनीले बैंकको जस्तै चेकबुक दिन्छ। सेयर बिक्री गर्दा चेक काटेर दिनुपर्छ ।

खरिद गरेको अवस्थामा उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा हुन्छ। २०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्ण रुपमा सञ्चालनमा आएको हो।