लगानीकर्ताको मनोबल बढ्दा सेयर बजारमा उछाल


काठमाडौं । देशको एकमात्र धितोपत्र बजार नेपाल स्टक एक्सचेन्जमा व्यापक उछाल आउन थालेको छ । बजारमा दैनिक औसत ५ देखि ७ अर्ब रुपैयाँसम्मको कारोबार हुन थालेको छ ।

गत महिना मंसिरको अन्तिम सातादेखि सेयरबजार निरन्तर बढेको छ । गत मंसिर २४ गते आइतबार नेपाल स्टक एक्सचेन्जको सेयर मापक सूचक नेप्से परिसूचकमा सर्किट ब्रेक लागेर ६ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द भयो ।

यस दिन नेप्से परिसूचक १११.२० अंकले बढेर १ हजार ९६३.९८ अंकमा पुग्या भने कारोबार सुरु भएको १ घण्टा ७ मिनेटमा नेप्से ६ प्रतिशतले बढेर सर्किट ब्रेक लागेसँगै दिनभरको कारोबार स्थगित भएको थियो । नेप्सेमा सर्किट ब्रेक लागेको भोलिपल्ट भने बजार १५.४० अंकले घट्यो ।

लगानीकर्ता बजारप्रति ढुुक्क नहुँदा नाफा बुक गर्ने शिलशिलामा केही ‘करेक्सन’ आएको सेयरबजारका विज्ञहरू बताउँछन् । त्यसपछिको कारोबारका ८ दिनमा ७ दिन बजार बढेको छ भने एक दिनमात्रै बजार घटेको छ ।

१८५२ अंकमा रहेको नेप्से परिसूचक पछिल्लो दई सातामा २१४१.८७ अंकसम्म पुग्यो । अघिल्लो साता १ हजार ९९४.६ मा बन्द भएको बजार गत साता २ हजार १०९.१ मा बन्द भयो । अघिल्लो साता बजार करिब १४२ अंकले बढेको थियो भने गत साता ११४.५ अंक बढेर बजार बन्द भएको छ । यस आधारमा पछिल्लो १० दिनमा नेप्से परिसूूचक २५६.३३ अंकले बढ्यो ।

अघिल्लो साता दोस्रो बजारमा ३१ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने गत साता अघिल्लो साता भने १६.६९ अर्ब रुपैयाँ बराबर भएको थियो । जसअनुसार पछिल्लो दुई सातामा सूचक र कारोबार दुवैमा वृद्धि भएको छ ।

यसै साता बुधबार २१४१.८७ अंक पुगेको नेप्से परिसूचक कारोबारको अन्तिम साता बिहीबार भने ३२.७७ अंकले घटेर २१०९.१० मा झरेको छ ।

नेप्सेको वृद्धिसँगै कारोबार रकमका पनि उलेख्य वृद्धि आएको छ । दैनिक करोडमा हुने कारोबार अहिले ७ अर्बसम्म पुगेको छ । बुधबार नेप्से परिसूचक ७ अर्ब ९५ लाख ७५ हजार रुपैयाँको कारोबार भएको थियो ।

२८ खर्ब रुपैयाँको हाराहारीमा रहेको बजार पुँजीकरण पनि ३२ अर्ब नाघेको छ । गत साताको कारोबारको अन्तिम दिन बिहीबार बजार पुँजीकरण पनि ३२ खर्ब ७६अर्ब ३३ करोड७१ लाख ५९ हजार ६सय ८६ पुगेको नेप्सेको तथ्यांकमा उल्लेख छ ।

बढ्दै लगानीकर्ताको मनोबल

लामो समयदेखि थलिएको सेयरबजारमा एकैदिन यस्तो वृद्धि देखिँदा लगानीकर्तामा उत्साह देखिएको बजार विश्लेषकहरूको ठहर छ । बजारमा केही दिनदेखिको निरन्तर वृद्धिसँगै लगानीकर्ताहरु सक्रिय बनेका छन् ।

देशको अर्थतन्त्र र आर्थिक क्षेत्रका सुूचकहरु बजार प्रभावित हुने मुख्य आधार भए पनि सबैभन्दा महत्वपर्ण कुरा भनेको लगानीकर्ताको मनोबल हुने जानकारहरु बताउँछन् ।

पछिल्लो समय लगानीकर्ताको बजारप्रति लगानीकर्ताको विश्वास गुम्दा बजार निरन्तर ओरालो लाग्न बल पुगेको थियो ।
बजार यसरी बढ्नुमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा रहेको लगानीकर्ता बताउँछन् ।

कर्जा बिस्तार र ब्याजदर घटाउने विषयमा केहि लचिलो नीति लिएको थियो । लचिलो मौद्रिकको सकारात्मक प्रभाव बजारमा देखिएको लगानीकर्ताको ठहर छ ।

बजारमा केही सकरात्मक माहोल सिर्जना भएको हुनाले बजार बुलिस ट्रेन्डमा देखिएको सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल बताउँछन् ।

“बजारले लामो समयदेखि खेपेको वियरिस अब बुल तर्फ जान थालेको हो,” फुल्लेलले भने “राष्ट «बैंक पनि सेयरबजार प्रति थोरै लचिलो बन्यो, त्यसको प्रभाव बजारमा देखिएको हो । बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा लगानीयोग्य पैसा हुँदा तरलता सहज भयो जसले गर्दा बजारमा सकरात्मक माहोल सिर्जना भएको देखिन्छ ।”

पछिल्लो समय बैंकहरुले हरेक महिना व्याजदर घटाउँदै गएका छन्, त्यसले पनि बजारलाई बुलिस बनाउन सघाउ पु¥याएको उनको भनाइ छ ।

फुल्लेलका अनुसार व्याजदर बढ्दा सेयरबजार घट्ने र व्याजदर घट्दा सेयरबजार बढ्ने गरेको विगतले पनि प्रमाणित गरेको छ ।

पुँजीबजारसँग सम्बन्धित विषयमा राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाई १ सय २५ प्रतिशत कायम गर्नु नै मुख्य कारण रहेको सेयरबजारका जानकार बताउँछन् ।

त्यस्तै, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत राष्ट्र बैंकले बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर सात प्रतिशतमा कायम गरेको थियो भने नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा कायम गरेको थियो ।

त्यसैगरी निक्षेप संकलन बोलकबोल दरलाई साढे चार प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरिएको थियो ।