नेपालको कुल व्यापार ३.६४ प्रतिशतले घट्यो


काठमाडौँ । नेपालको कुल व्यापार चालू आर्थिक वर्षको ५ महिनामा गत आर्थिक वर्ष २०७९/८० कोभन्दा ३.६४ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको मंसिरसम्मको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ को ५ महिनामा ३.६४ प्रतिशतले घटेको देखिएको हो ।

नेपालको आयात २.३९ प्रतिशतले घट्दा निर्यात भने ६.०९ प्रतिशतले घटेको छ । नेपालले चालू आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ बराबरको आयात गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० को यहि अवधिमा नेपालले ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपैयाँ बराबरको आयात गरेको थियो । आयात गत वर्षको भन्दा ३.३९ प्रतिशतले कम भएको भन्सार विभागले उल्लेख गरेको छ ।

चालू आर्थिक वर्षको ५ महिनामा ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँ बराबरको मात्र निर्यात भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख २ हजार रुपैयाँ बराबरको भएको थियो ।

नेपालको व्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख २९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

नेपालको कुल व्यापार ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख ९८ हजार रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।