आठौ संस्करणको आइसिटी अवार्ड २०२३ मा १४ विधामा अवार्ड र सातै प्रदेशका स्टार्टअपलाइ सम्मान


काठमाडाैँ । लिभिङ विथ आइसिटीले आयोजना गरेको आठौं संस्करणको ‘अपग्राड आईसीटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभ’ शुक्रवार द सोल्टी काठमाडौँमा सम्पन्न भएको छ ।

एक दर्जनबढी प्रि-ईभेन्ट र ५ महिनादेखिको छनौट प्रक्रिया र एक महिनासम्म टेलिभिजन कार्यक्रम पश्चात आयोजना भएको ग्राण्ड फिनालेमा १४ विधामा अवार्ड र सातै प्रदेशका उत्कृस्ट स्टार्टअपलाई सम्मान गरिएको छ ।

७०० बढीको अनलाइन आवेदनबाट विभिन्न ५ चरणको छनौट पश्चात बिजेताहरु छनौट गर्दै अवार्ड प्रदान गरिएको हो । उक्त समारोहमा अन्तराष्ट्रिय अवार्डको रुपमा आयोजना भएको ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२३’ को पनि बिजेता घोषणासंगै पुरस्कृत गरिएको छ ।

कार्यक्रममा सहभागी हुनकाे लागि श्रीलंका, भरत, बंगलादेश, भुटान र बेलायतबाट सहभागीहरु आएका थिए ।

यस वर्षको पायोनियर आइसिटी अवार्ड २०२३ पहिलो इ-कमर्स संचालक बालकृष्ण जोशीले प्राप्त गरेका छन् । एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेले प्राप्त गरेकी छिन् ।

यसैगरी प्रोफेसनल एक्सीलेन्स आइसिटी अवार्ड २०२३ एनरेनका अध्यक्ष लोचनलाल अमात्यले प्राप्त गरेका छन् । आन्टरप्रेनर्स आइसिटी अवार्ड यस वर्ष इन्फिकेयरका सिइओ अनुप सेरचनले प्राप्त गरे । नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्राध्यापक डाक्टर सुरेश मानन्धरले प्राप्त गरेका छन् ।

संस्थागत अवार्ड विधाहरुमा डिजिटल गभर्नेन्स अवार्ड यस वर्ष नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ तिलगंगा आखा प्रतिष्ठानले प्राप्त गर्यो ।

डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर) तनहुको सत्यदेवी माध्यमिक बिद्यालय र डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइवेट सेक्टर) काठमाडौँको अध्ययन स्कुलले प्राप्त गरेको छ ।

स्टार्टअप र इन्नोभेसनका विधाहरुमा यस वर्ष ‘इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३’ यार्सा टेकले प्राप्त गर्यो भने प्रडक्ट आइसिटी अवार्ड क्युकआरपीएले प्राप्त गरेको छ ।

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरले जित्न सफल भएको थियो । हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ को उपाधि ‘मनिमित्र’ ले जित्न सफल भएको छ । दक्षिण एसियाली देशहरुलाई लक्षित साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२३ को उपाधि भुटानको समूह मिडियाटेकले प्राप्त गरेको छ ।

यस बाहेक लिभिङ विथ आईसीटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई समेत आईएफएन प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२३ बाट सम्मान गरेको छ ।

यसका लागि केही महिना अगाडि सातै प्रदेशमा स्टार्टअप मिटअप तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको थियो । उनीहरूलाई काठमाडौं ल्याएर मेन्टरिङ, बुटक्याम्प, इन्डष्ट्री भिजिट गराइएको थियो ।

यस वर्ष कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्स बी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, गण्डकी प्रदेशबाट रेष्ट्रो एक्स, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मानित भएका छन् ।

यसैगरी नागरिक एपले केहि समय अघि प्राप्त गरेको वर्ल्ड समित(डब्ल्युएसए) अवार्डलाइ सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हस्तान्तरण गरेकी थिइन् ।

गभर्नेन्स सिटिजन सर्भिस एप्लिकेसनको प्रतिस्पर्धमा नागरिक एपले ४० बढी देशहरुलाई पछि पार्दै डब्ल्युएसए अवार्ड प्राप्त गरेको थियो । आइसिटी अवार्डले बिश्वका बिभिन्न प्रतिष्ठित अवार्डसंग पनि सहकार्य गरेको आइसिटी अवार्डका अध्यक्ष तथा डब्ल्युएसएका नेशनल एक्सपर्ट राजन लम्सालले बताए । 

अवार्डको उद्घाटन शत्रकी प्रमुख अतिथि मन्त्री शर्माले अवार्ड कार्यक्रममा सम्बोधन गर्दै नेपाल सरकारले स्टार्टअप र डिजिटल च्याम्पियनहरुलाई प्रतिस्प्रधा गराउदै डिजिटल नेपालको अभियानमा सामेल गराउने बताइन् । मन्त्री शर्माले डिजिटल रूपान्तरण र डिजिटल इकोसिस्टम विकासमा गैर सरकारी क्षेत्रबाट आईसीटी अवार्डले गरिरहेको काम प्रशंशा योग्य भएको बताइन् ।

समापन कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्रि डा. प्रकाश शरण महतले डिजिटल इकोनोमीको लागि आइटी क्षेत्रलाइ प्रवर्धन गर्दै जानुपर्ने बताए । आइसिटी अवार्डले गरेको प्रयासले डिजिटल इकोसिस्टमको विकासमा योगदान दिनेछ भन्दै सरकार सधै सहयोगीको रुपमा रहने डा. महतले बताए ।

लिभिङ विथ आईसीटीका संस्थापक तथा कार्यक्रमका अध्यक्ष राजन लम्सालले सम्बोधन गर्दै,  आईसीटी अवार्डले स्टार्टअप इकोसिस्टम विकास र डिजिटल रूपान्तरणमा काम गरिरहेको बताए ।

लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ ।

अवार्ड विजेतालाई विभिन्न पुरस्कार समेत प्रदान गरिएको छ । वुमन आईकन आइसिटी अवार्ड विजेतालाई एनसेलले ३ लाख नगद पुरस्कार दिएको छ । स्कुल व्यवस्थापन सफ्टवेयर वेदले डिजिटल एजुकेसन आईसीटी अवार्ड २०२३ (पब्लिक सेक्टर) विजेतालाई पूर्ण रूपमा निःशुल्क आफ्नो सफ्टवेयर उपलब्ध गराउने छ ।

यस्तै सम्पूर्ण विजेतालाई बगभीले एक वर्षसम्म निःशुल्क साइबर सुरक्षा सेवा उपलब्ध गराउने छ भने राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विजेतालाई लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले मास्टर्स ईन आईटीका लागि ७ लाखको छात्रवृत्ति प्रदान गरेको छ । यसका साथै विजेतालाई डिशहोमले २०० एमबीपीएसको इन्टरनेट समेत निःशुल्क उपलब्ध गराएको छ ।

आइसिटी अवार्ड २०२३ मा १४ जना स्वदेशी र ३ जना अन्तर्राष्ट्रिय विज्ञ जुरीले ४ महिनासम्म २५ वटा बढी मिटिङहरु सञ्चालन गदै छनौट प्रकृयालाई सम्पन्न गरेका थिए । यसैगरी १३ जना बिशिस्ट सल्लाहकार समिति पनि गठन गरिएको थियो ।

यी हुन आइसिटी अवार्ड २०२३ का विजेताहरू

इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड: यार्सा टेक प्रालि

प्रडक्ट आइसिटी अवार्ड: क्विक आरपीए

राइजिङ स्टार आइसिटी अवार्ड: ब्ल्यांकसर

हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड : मनिमित्र

एनसेल वुमन आइकन आइसिटी अवार्ड: सुनैना घिमिरे पाण्डे

पायोनियर आइसिटी अवार्ड: बालकृष्ण जोशी

आन्टरप्रेनर आइसिटी अवार्ड: अनुप शेरचन

नेपाली डायस्पोरा आइसिटी अवार्ड: प्रा.डा. सुरेश मानन्धर

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड: नेपाल स्टक एक्सचेन्ज लिमिटेड

डिजिटल सर्भिसेस आइसिटी अवार्ड: तिलगंगा आँखा प्रतिष्ठित

डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर): सत्यवति माध्यमिक विद्यालय, तनहुँ

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड: भुटानको समूह मिडियाटेक

सम्मानित सात प्रदेशका उत्कृष्ट स्टार्टअपहरु (कोशीदेखि सुदुरपश्चिमसम्म क्रमश) :  ट्रयाक अन नेपाल, एड्स बी मिडिया, हर्टसन टेक्नोलोजी, रेष्ट्रो एक्स, टुना टेक्नोलोजी, बायो कर्णाली एरोमा र निम इन्फोसिस