नेप्सेमा २१ अंकको करेक्सन, कारोबार रकम ७ अर्ब माथि


काठमाडौं । केहि दिनदेखि निरन्तर बढेको सेयरबजार साताको कारोबारको पहिलो दिन भने दोहोरो अंकले घटेको छ ।

केहि दिनदेखि निरन्तर बढेको बजारमा आज लगानीकर्ताले नाफा बुक गर्न खोज्दा करेक्सन आएको सेयरबजारका जानकारहरु बताउँछन् ।

लगानीकर्ताको मनोबल बढ्दै गएपनि विश्वस्त हुन नसक्दा बजारमा केही करेक्सन देखिएको उनिहरुको भनाई छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार सेयरमापक सूचक नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८.०७ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये ४ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार नेप्सेमा शिवम् सिमेन्ट कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको छ । कम्पनीको ३० करोड ४३ लाख २८ हजार ६६ रुपैयाँको सेयर कारोबार भएको छ ।

आजको दिन नेप्सेमा ५ वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी पाँचओटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज ज्योति विकास बैंक बण्ड–२०८७ र नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८ सय २९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।