सुमेरु सेकुरिटिज (ब्रोकर नं ३९) को शाखा पोखरामा


कास्की । धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) ब्रोकर नं ३९ (सुमेरु सेकुरिटीज प्रा.लि) ले पोखराको सृजना चोकमा नयाँ शाखा शुरु गरेको छ ।

यो सँगै पोखरामा सेयर कारोबार गर्ने ब्रोकरको सङ्ख्या ११ पुगेको छ । आज पूर्व उद्योग मन्त्री महेश बस्नेतले एक कार्यक्रममा बि समेरु सेकुुरिटीजको शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

यस अघि पोखरामा १० वटा ब्रोकरहरूले आफ्नो सेवा दिँदै आएका थिए । नेपाल धितोपत्र बोर्डले ब्रोकर विस्तार फुकुवा गरेसँगै यस वर्ष मात्रै पोखरामा ४ वटा ब्रोकर शाखा थपिएका छन् ।

त्यसअघि लामो समयसम्म ७ वटा ब्रोकरले पोखरामा सेवा दिँदै आएका थिए । २०६६ सालमा ब्रोकर नं १४ (नेपाल स्टक हाउस) ले पोखरामा पहिलो शाखाको रुपमा कारोवार शुरु गरेको थियो ।

पोखरामा पुराना ७ वटा ब्रोकरका करिब १ लाख ५ हजारको संख्यामा सेवाग्राहीहरुले सेयर कारोवारको लागि डि म्याट खाता खोलेका ब्रोकर नं ३५ (कुहिनूर इन्भेष्टमेन्ट) शाखा व्यवस्थापक खेमराज भाट बताउँछन् ।

सुमेरु सेकुरिटीज, ब्रोकर नं ३९ को शाखा उद्घाटन गर्दै पूर्वउद्योग मन्त्री बस्नेतले देशको अर्थतन्त्र ठिक ठाँउमा ल्याउन सेयर बजारको भूमिका ठूलो रहने बताए ।

उनले भसेयर कारोबार गराउने ब्रोकरले नयाँ सेयर कारोबारीलाई परामर्श पनि दिनु आवश्यक रहेको बताए । बस्नेतले सेयर कारोबारी बढे सरकारलाई राजस्व पनि बढ्ने उल्लेख गर्दै भने,“ देशको विकासको लागि अर्थतन्त्र बलियो हुनपर्यो, अर्थतन्त्र बलियो हुन सेयर बजारको भुमिका महत्वपूर्ण हुन्छ, यसले परनिर्भरतालाई घटाउँछ, त्यसैले सेयर बजार अर्थतन्त्रको ऐना हो ।”

ब्रोकर नं ३९ का संस्थापक अध्यक्ष प्रेम कुमार अग्रवालले सेयर बजार भनेको जोखिममा काम गर्नुपर्ने भएकाले बुझेर लगानी गर्नुपर्ने बताए ।

उनले सेयर बजार सरकारलाई राजस्वको ठुलो स्रोत भएकाले बजारको दायरा बढाउँदै लगिनु पर्ने बताए ।