काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी राष्ट्रहरुको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्ने बताएकी छिन् ।
बेल्ट एण्ड रोड इनिसियटिभको १० औं वार्षिकोत्सव तथा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६८ औँ वार्षिकोत्सवको अवसर पारेर नेपालस्थित चिनियाँ राजदूतावासको समन्वयनमा आयोजना गरिएको दोस्रो चाइना–नेपाल मिडिया शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले छिमेकीहरुले गरिरहेको आर्थिक प्रगतिबाट नेपाल खुशी रहेको औल्याउँदै छिमेकीको विकासबाट नेपालले लाभ लिइरहेको र यसलाई गुणात्मकरुपमा बढाउनुपर्ने बताइन् ।
“‘चिनियाँ सहयोगमा नेपालमा महत्वपूर्ण आयोजनाहरु अघि बढ्ने हाम्रो अपेक्षा रहेको छ । नेपाल–चीन सीमापार रेलमार्ग, केरुङदेखि काठमाण्डौं–लुम्बिनी रेलमार्गजस्ता आयोजनाहरु अघि बढ्न सकेको खण्डमा यसबाट नेपालको समृद्धिमा नयाँ आयाम थपिने छ,” मन्त्री शर्माले भनिनर, “छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सञ्चालन गर्ने विभिन्न परियोजनाहरुमा नेपाल राष्ट्रहित अनुकूल हुने गरी सामेल हुँदै आएको छ ।”
चीनले यस्तै महत्वपूर्ण परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सुरु गरेको दश वर्ष पूरा भएको अवसरमा बधाई दिँदै उनले यो अवधिमा १५० देश र ३० वटा अन्तर्राष्ट्रिय संस्थाको आर्थिक सहायता प्लेटफर्मको रुपमा यो परियोजना स्थापित हुनु महत्वपूर्ण प्रगति भएको र यसबाट नेपालले पनि यथोचित लाभ लिन अझै मेहनत गर्नुपर्ने काम बाँकी नै रहेको उल्लेख गरिन्।
“सरकार–सरकार र जनता–जनताबिचको सम्बन्धलाई थप उचाइँमा अघि बढाउन दुबै देशका मिडियाहरुको महत्वपूर्ण भूमिका छ, त्यसका लागि पनि यस्ता सम्मेलनहरु फलदायी हुनेछन्,” मन्त्री शर्माले भनिन्, “‘यसमा पनि सरकार–सरकार र जनता–जनताबिचको सम्बन्ध थप प्रगाढ बनाउँदै दुबै देशको पर्यटन प्रवर्धनका लागि सरकारले चाल्नुपर्ने कदमका बारेमा उपयुक्त सुझाव आउने अपेक्षा गरेका छौं ।”
संसारमै सबैभन्दा धेरै जनसंख्या भएको चीनमा ठूलो संख्यामा बौद्धमार्गी रहेकाले तीमध्ये वर्षेनी केही प्रतिशत मात्रै गौतम बुद्धको जन्मस्थल नेपाल आउने वातावरण बनाउन सकियो भने नेपालको पर्यटन प्रवर्धनमा कायापलट हुने जानकारी दिइन् ।
नेपाल र चीनबिच नून, उmन र सुनको ब्यापार विनिमयबाट दुई देशको सभ्यता र सम्बन्धको सुरुवात भएको उल्लेख गर्दै उनले आजका दिनमा दुबै देशबिचको ब्यापार दर बढाउनुपर्ने र नेपालले वर्षौदेखि ब्यहोर्दै आएको ब्यापार घाटा कम गर्न चीनसँगको ब्यापार सहयोगी बन्ने नेपालको अपेक्षा रहेको पनि स्पष्ट पारिन् ।
“‘नेपालबाट चीनमा गलैँचा, पास्ता, फेल्ट, फर्निचर, हातेकागज, जडीबुटी, तरकारीलगायतका वस्तु निर्यात हुँदै आएको भए पनि आयातको अनुपातमा निर्यातको मात्र निकै न्यून छ,” मन्त्री शर्माले भनिन्, “यसमा हामीले वस्तु उत्पादनमा वृद्धितिर ध्यान दिनुपर्ने अवस्था त छँदैछ, त्यसमा थप नेपाल र चीनबिचका थप नाकाहरु खुला गर्ने, भन्सार विन्दु सहज बनाउने र भन्सार छूट दिने लगायतका क्षेत्रमा नेपालको गहिरो चासो रहँदै आएको छ ।”
उनले यो सम्मेलनले नेपाल र चीनको आपसी सम्बन्धलाई थप बलियो बनाउन तथा दुबै देशका मिडिया र पत्रकारहरुबिचको सम्बन्ध थप सुमधूर बनाउँदै आपसी अनुभव र सहयोग आदानप्रदानका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा व्यक्त गर्दै पत्रकारिताका विश्वब्यापी प्रवृत्तिको समीक्षा र विश्लेषण गरी त्यसबाट सिकेर आफ्नो देशको सापेक्षतामा अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्