हिमालय रि–इन्स्योरेन्सको आइपीओ बाँडफाड सम्पन्न


काठमाडौं । हिमालयन रि(इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ बुधबार (आज) बिहान बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो ।

कम्पनीको आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए। सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको छ भने १५ लाख ६४ हजार ५६४ आवेदन स्वीकृत भएको छ।

स्वीकृत आवेदनमध्ये १० देखि ३० कित्तासम्म आवेदन दिने आवेदकले आवेदन दिनेजति सबैले सेयर प्राप्त गरेका छन् ।

बाँडफाँट गर्दा बाँकी रहेको २ लाख ९० हजार २१० कित्ता सेयर ३० कित्ताभन्दा बढी आवेदन दिने लगानीकर्ताहरुलाई बाँडफाँट गरिएको छ। जसअनुसार २९ हजार २१ आवेदकले थप १० कित्ता अर्थात् ४० कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीले सर्वसाधारण नेपालीहरुका लागि दुई करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीको हाल कायम जारी पूँजी ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्रबाटअनुमति प्राप्त गरेको थियो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीलाई ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता बाहेकको बाकीँ सेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

आइपीओ बाँडफाँड सकिएपनि नतिजा हेर्न केही समय कुर्नुपर्ने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । डाटाहरु सफ्टवेयरमा अपलोड हुन केही समय लाग्ने हुदाँ नतिजा हेर्न केही समय लाग्ने क्यापिटलको भनाई छ । नतिजा बिक्री प्रबन्धकको वेबसाईट, सिडिएससीको आइपिओ नतिजा हेर्ने वेबसाईट तथा मेरो सेयर एप मार्फत पनि हेर्न सकिनेछ ।