धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । बिहीबार (आज) बसेको समितिको बैठकले अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको हो ।

आज बसेको समितिको बैठकले प्रिमियम मूल्यमा निष्कासन भएका आईपीओको औचित्य र मूल्यांकनको पनि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो ।

हमाललाई लेखा समितिले प्रिमियमा जारी भएका आईपीओका विषयमा छलफल गर्न बिहीबार हमाललाई बोलाएको थियो । तर हमाल उक्त छलफलमा अनुपस्थिति भएका थिए । विना जानकारी हमाल अनुपस्थित भएको भन्दै समितिले खेद प्रकट गरेको छ ।

बोर्डको तर्फबाट कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ बैठकमा सहभागी भएका थिए । बोर्डको अध्यक्षका रूपमा आफ्नो कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा उनी बिदामा रहेका छन् ।
उनको कार्यकाल यही पुस २० गतेबाट सकिँदैछ ।