डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे नेपाल विद्युत प्राधिकरण र उद्योगीहरूबिच विवाद चर्कदै


काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइन बक्यौताको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरण र उद्योगीहरूबिच विवाद चर्कदै गएको छ ।

प्राधिकरणले बक्यौता बाँकी रहेको भन्दै विद्युत लाइन काट्न छोडेको छैन भने उद्योगीहरूले यसको विरोध गर्दै बिल देखाउन चुनौती दिएका छन् ।

आज एभरेस्ट होटलमा संयुक्त पत्रकार सम्मेलन गर्दै उद्योगीहरूले डेडिकेटेड र ट्रंकलाइन बक्यौता महशुल विवाद समाधान गर्नुको साटो प्राधिकरणले उद्योगको लाइन काटेर गैरजिम्मेवारी देखाएको आरोप लगाएका छन् ।

उद्योगीले सबै विवरण लिएर आउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चुनौती दिएका छन् । प्राधिकरणले भने बक्यौता बाँकी रहेको भन्दै धमाधम उद्योगीहरूको बिल काटिरहेको छ ।

नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापाले नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड ट्रंकलाइन विवादमा कानुनविपरीत उद्योगको लाइन काटेको आरोप लगाए ।

सिएनआईका अध्यक्ष राजेश अग्रवालले उद्योगीहरुलाई अपराधीजस्तो व्यवहार गरिएको गरे । उनले भने,“ के हामीले उद्योग चलाउनु अपराध हो ? एउटा व्यक्तिको कार्यक्षमता देखाउन यो सरकारले जबर्जस्ती गरेर लाइन काटिएको छ । उनले प्रमाण दिन माग गरे ।”

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले प्रमाण देऊ पैसा तिर्न तयार छौँ भन्दा पनि सुख नपाइएको बताए ।

उनले प्राधिकरणका घिसिङले आफूले जे बोल्यो त्यही कानुन हो जसरी प्रस्तुत भएको टिप्पणी गरे । उनले सरकार समेत संवेदनशील नभएको समेत आरोप लगाए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले आफूहरूले विद्युत प्राधिकरणले दिएको डेडिकेटेड र ट्रंकलाइनको सुविधा प्रयोग नै नगरेको दाबी गरे ।