एमजी मोटर्सको स्पष्टीकरण: विद्युतको तार सर्ट भएर गाडीमा आगलागी


काठमाडौँ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले विद्युतीय गाडीमा आगलागी भएको घटनाकाे स्पष्टीकरण जारी गरेको छ ।

पारामाउन्ट मोटर्सले हिजाे (बुधबार) एक प्रेस विज्ञप्ति जारी गर्दै साँझ ६ः०० बजे देखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युतको तार सर्ट भई आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेको जनाएको हो ।

उक्त घटनाको सम्बन्धमा कम्पनीलाई जानकारी भएपश्चात् तत्काल सोही दिन यस कम्पनीका प्राविधिक कर्मचारीसमेतको टोली स्थलगत रूपमा घटनास्थलमा अवलोकन गरी हेर्दा र स्थानीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट भएको सर्जिमिन मुचुल्का र प्रभागको पत्र ब्यहोरा समेतमा भएको विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत् प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरी राखिएको कम्पनीले आफ्नो विज्ञप्तिमा जनाएको छ ।

गत पुस ८ गते काठमाडौँको बुढानीलकण्ठमा घर नजिकै पार्किङ गरेर चार्जमा राखिएको बागमती प्रदेश–०१–०२७ ख १५८१ नम्बरको एमजी जेडएस ईभी गाडीमा आगलागी भएको थियो ।