पोखरा यान्त्रिकरण मेला आज अन्तिम दिन, दोस्रो दिनसम्म २० हजारले गरे अवलोकन, ३ करोडको बुकिङ


काठमाडौँ। शुक्रबारदेखि सुरु भएको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनीको आज तेस्रो तथा अन्तिम दिन अवलोकनकर्ताको घुँइचो बढ्न सक्ने अपेक्षा आयोजकले गरेका छन्। 

मुख्य आयोजक नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) ले शुक्रवार र शनिवारको मेलामा कुल २० हजार बढिले अवलोकन गरेको र ४० लाख बराबरको कारोबार भएको जनाएको छ। 

दुइ दिनमा करिब ३ करोड बराबरको मेसिनरी बुकिङ भएको नामियाले जानकारी दिएको छ । नामियाका अध्यक्ष कृष्ण शर्माले मेलामा सरोकारवालाको साथ र अवलोकनकर्ताको चासोले उत्साह थपिएको बताए। 

“सरकारी तथा गैर सरकारी क्षेत्र, मिडिया र सबै सरोकारवालको साथ र सहयोगले धेरै भन्दा धेरै किसानले मेला अवलोकन गर्नु भएको छ,” उनले भने, “गण्डकी क्षेत्रमा कृषि यान्त्रिकरण प्रवर्धनमा मेला कोशेढुंगा नै सावित भएको हामीले महसुस गरेका छौँ।”

पहिलो दिनभन्दा दोस्रो दिन गुणात्मक हिसाबले अवलोकनकर्ताको संख्या बढेकाले तेस्रो तथा अन्तिम दिन पनि यसै अनुसार अवलोकनकर्ताको घुँइचो बढ्ने प्रक्षेपण गरिएको नामियाका महासचिव अर्जुन लुइँटेलले बताए।