एथर इनर्जीको नयाँ इलेक्ट्रिक स्कुटर ‘४५० एपेक्स’ सार्वजनिक, यस्ता छन् विशेषता


काठमाडौँ । एथर इनर्जीले भारतीय बजारमा आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर ‘४५० एपेक्स’ सार्वजनिक गरेको छ । एथर इनर्जीका सह-संस्थापक तरुण मेहताले उक्त स्कुटर सार्वजिनक गर्दै १० औं वार्षिकोत्सव ई-स्कुटरको सीमित युनिट मात्रै बजारमा ल्याइने र यसको उत्पादन अक्टोबर-२०२४ सम्म मात्रै मागअनुसार गरिने बताए।

कम्पनीले यसको मूल्य १ लाख ८९ हजार भारु (एक्स शोरुम) राखेको छ । ई-स्कुटरको बुकिङ डिसेम्बर १९ बाट सुरू भएको छ । ग्राहकले टोकन मनीमा रु २,५०० तिरेर बुक गर्न सक्नेछन् । ४५० एपेक्स ६ वर्ष वा ६० हजार किमी ब्याट्री वारेन्टीको साथ आउने कम्पनीले जनाएकाे छ ।

ई-स्कुटरको डेलिभरी मार्च २०२४ देखि सुरु हुनेछ। नयाँ ई-स्कुटरले एस १ प्रोसँग प्रतिस्पर्धा गर्ने कम्पनीकाे दाबी छ । कम्पनीका अनुसार एथर ४५० एपेक्सले बजारमा उपलब्ध परम्परागत १२५ सीसी पेट्रोल स्कुटर भन्दा राम्रो प्रदर्शन र राम्रो सवारी अनुभव प्रदान गर्नेछ ।

कम्पनीले यसमा ३.७ किलोवाटको ब्याट्री प्याक दिएको छ । सो ब्याट्री फुल चार्ज गरेपछि १५७ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । ब्याट्री ५ घण्टा ४५ मिनेटमा ० देखि १०० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । फास्ट चार्जरको प्रयोग गरेर ४५० एपेक्स १।५ किलोमिटर प्रतिमिनेटको स्पिडमा चार्ज गर्न सकिने कम्पनीले जनाएकाे छ ।

नयाँ स्कुटरमा एथर ४५०एक्सको तुलनामा धेरै अपडेट गरिएको छ । यसमा ७.० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ९.३८ बीएचपीको पावर र २६ एनएमको टर्क जेनेरेट गर्छ । यसले २.९ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ । स्कुटरमा इको, राइड, स्पोर्ट, वार्प र वार्प प्लस गरी ५ मोड रहेको कम्पनीले जनाएकाे छ ।

.