नाडाकाे पदाधिकारी चयन, आकाश गाेल्छा वरिष्ठ उपाध्यक्ष हुँदा अन्यमा काे-काे परे ?


काठमाडौँ । अटो व्यवसायीहरूको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पदाधिकारी चयन गरेको छ । आज (आइतबार) बसेको केन्द्रीय कार्य समितिको बैठकले वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छालाई चुनेको छ भने शुक्रबार भएको साधारणसभाले करण चौधरीलाई अध्यक्षमा चयन गरेको थियो ।

उपाध्यक्षमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र लक्ष्मी ग्रुपका निर्देशक निराकार श्रेष्ठ चयन भएका छन्। महासचिवमा सुरेन्द्र कुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल दोहोरिएका छन्। सचिवमा पदको लागि भने चुनाव भएको थियो जसमा विक्रम सिंघानिया र यमुना श्रेष्ठबिच प्रतिस्पर्धा भएको थियो। चुनाव हुँदा सिंघानियाले बीवाईडीकी यमुना श्रेष्ठलाई हराएका छन् । सिंघानियाले १५ मत पाउँदा यमुना श्रेष्ठले १४ मत ल्याएकी थिइन् ।

त्यस्तै सहकोषाध्यक्षमा पंकज अग्रवाल चयन भएका छन्। साधारणसभामा सुनिल रिजाल, दीपेन्द्र कुमार मिश्रा, कपिल शिवाकोटी, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी सदस्यमा निर्विरोध भएका थिए।

कार्यसमिति सदस्यमा तीन जना मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठ मनोनीत भएका छन्। संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ चयन भएका छन्।

त्यस्तै लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएउसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोध निर्वाचित भएका छन्।