तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ३० हजारले गरे अवलोकन, ५५ लाखको कारोबार 


पोखरा । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले आयोजना गरेको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न भएको छ । शुक्रवारदेखि तीन दिनसम्म चलेको मेलाको करिव ३० हजारले अवलोकन गरेका छन्। 

कृषि यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन नारा सहित शुक्रबारदेखि पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा जारी मेलाको आइतवार बेलुका एक कार्यक्रमकाबिच समापन गरिएको हो। कार्यक्रम सोचे जतिकै भव्य भएको नामियाका अध्यक्ष कृष्ण शर्माले बताए। 

“हामीले कृषि यान्त्रिकरणको प्रबर्द्धन गर्ने उद्देश्य सहित हरेक दुई वर्षमा गर्दै आएको यो प्रदर्शनी पहिलो पटक प्रदेशस्तरमा गरिएको छ,” समापन कार्यक्रममा बोल्दै उनले भने, “सरकारी तथा गैर सरकारी क्षेत्र सबैको साथ, व्यापारी र अवलोकनकर्ता सबैको भव्य र उत्साहपूर्ण सहभागिताले हाम्रो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।” 

तीन दिनमा कुल ५५ लाख बढीको मेसिनरी किनवेच प्रत्यक्ष कारोबार भएको तथा ६ करोडको बुकिङ भएको नामियाका कोषाध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। 

पोखरामा सम्पन्न मेसिनरी प्रदर्सनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रर्वद्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिकाले पनि आयोजकको रुपमा  साथ दिएका थिए। 

समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आवश्यकता अनुसार कृषिको क्षेत्रमा बजेट विनियोजन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । कृषि भनेको कहिले पनि नहराउने पेशा भएका कारण यसलाई विकास गर्नका निम्ति निरन्तर काम गरिरहनु पर्ने उनले बताएका थिए ।

“कृषि भनेको सधैँ रहिरहने पेशा हो, यसलाई निरन्तर रुपमा विकास गर्दै लैजानुपर्छ,” उनले भने, “यो विषयलाई हरेक पालिकाले मनन गरेर एक वडा एक योजना अनुरुप काम गर्दै आएको छ । ती मध्ये पोखरा महानगरपालिका पनि एक हो, हामीले आजसम्म गरेका प्रयासलाई निरन्तरता दिदेँ अगाडिको दिनमा आवश्यकता अनुसार कृषि क्षेत्रको लागि बजेट विनियोजनमा बृद्धि गराउँदै लाने जानकारी पनि गराउन चाहन्छु ।”

यस्ता कार्यक्रमहरूलाई सरकारले अगाडि बढाउनुपर्नेमा नामिया जस्तो संस्थाहरूले पहल गरिरहेकोमा पनि मेयरले धन्यवाद ज्ञापन गरेका थिए । 

तीनदिने प्रदर्शनीको समिक्षा गर्दै नामियाका सचिव गौरव श्रेष्ठले कार्यक्रम भव्यताका साथ सम्पन्न भएको घोषणा गरे । “कार्यक्रम निकै नै उत्साहजनक रह्यो । हामीले सोचेजस्तै कार्यक्रमको मुख्य आकर्षण स्वदेशी उत्पादनहरू नै रहेका थिए,” उनले भने।

नामियाले पहिलो पटक प्रदेश स्तरबाट आयोजना गरेको यो कार्यक्रम उत्साहपुर्ण रुपमा समापन भएको भन्दै उनले मिनि ट्रयाक्टर, कुल रुम, टेलर मसिन लगायतका सामग्रीहरू कार्यक्रमको मुख्य आकर्षण भएको बताए । 

कार्यक्रममा कुल ६० कम्पनीले ७० वटा स्टल प्रदर्शनीमा राखेको थियो । उक्त ७० स्टल मध्ये नौ वटा मेड इन नेपाल पभेलियन अन्तर्गत थियो भने १५ वटा रैथानी बालीको स्टल थियो । यस्तै दुई वटा विदेशी स्टल पनि रहेको थियो । 

नामियाका महासचिव अर्जुन लुइँटेलले प्रदेशस्तरिय कार्यक्रमलाई निरन्तरता दिदैँ दोस्रो प्रदेश स्तरको कृषि यान्त्रीकरण प्रदर्शनी मधेश प्रदेशमा गर्ने गरी तयारी भइरहेको बताए । पोखराको प्रर्दशनीमा १० भन्दा बढी मुलुकका एक हजार भन्दा बढी प्रकारका कृषियन्त्र, औजार, उपकरण तथा प्रविधिहरु अवलोकन तथा खरिदका लागि राखिएका थिए । 

प्रर्दशनीमा मेड इन नेपाल स्टलसँगै कृषि यान्त्रीकरण प्रवर्द्धन सम्बन्धी गोष्ठीरसेमिनार, रैथाने बालीहरुको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, रैथाने बाली एवं कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया सम्पन्न भएका छन्। एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरु तथा सेवाहरुको बारे जानकारी गराउन यो प्रर्दशनी आयोजना फलदायी भएको आयोजकको निस्कर्ष छ। 

नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउविजन, आधुनिक सिंचाई लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रह्यो। 

संघको आयोजनामा यसअघि पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७० चितवन, दोस्रो राष्ट्रिय कृषियान्त्रीकरण प्रदर्शनी, २०७२ कोहलपुर बाँके, नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो २०१७, भृकुटिमण्डप, काठमाडौ, तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७४ धरान र चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६, चितवन, सलोम पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७८ सम्पन्न गरिसकेको छ। 

कृषि औजार, उपकरण, प्रबिधि उत्पादक उद्यमी व्यवसायीहरु, आयातकर्ता, वितरक, डिलर, सब–डिलरहरु, सरकारी एवं गैह्र सरकारी संघ संस्थाहरु, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्थाहरु, अनुसन्धान संस्थाहरु, सेवा प्रदायक, कृषक, कृषक समूह, सहकारी संघ संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु लगायतको मेलामा सहभागिता थियो। प्रदर्शनीको गोल्ड स्पोन्सर एसकेटी नेपाल प्रा।लि। तथा सिल्भर स्पोन्सरमा जी सेभेन एग्रिकल्चर, मुक्तिनाथ विकास बैंक र कृषि विकास बैंक लिमिटेड रहे। 

मेलाको सहयोगी संस्थामा यस प्रर्दशनीको सहयोगी संस्थाहरुमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना, हरिहरभवन, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, हरिहरभवन, नेपाल लाइभ स्टक सेक्टर इन्नोभेसन आयोजना, हरिहरभवन, ललितपुर, राष्ट्रिय कृषि ईन्जिनियरिङ्ग अनुसन्धान केन्द्र, खुमलटार, ललितपुर, राष्ट्रिय बाणिज्य बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, सगरमाथा लुम्बिनी लाइभ इन्स्योरेन्स र पोखरा उद्योग बाणिज्य संघ थिए।

प्रदर्शनीको कम्युनिकेसन पार्टनरमा एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) र नेपाल कृषि पत्रकार महासंघ रहेका थिए। सर्भिलियन्स पार्टनरमा जोधनी ईलेक्ट्रो प्रा।लि। र हस्पिटालिटी पार्टनरमा मझेरी रिसोर्ट एण्ड स्पा लेकसाइड पोखरा रहेको थियो।