वर्षे धानको उत्पादन बढ्यो, चैते धान घट्यो   


काठमाडौँ । नेपालको मुख्य बाली धानको उत्पादनमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष ०८०/८१ मा धानको कुल उत्पादन र उत्पादकत्व दुबै बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आवमा वर्षे धानको उत्पादनमा वृद्धि भएको छ भने चैते धानको उत्पादन भने घटेको छ।   

तथ्याङ्क अनुसार वर्षे र चैते धानसमेत कुल धानको उत्पादन गत वर्षको तुलनामा ४.३३ प्रतिशतले बढेर ५७ लाख २४ हजार २३४ मेट्रिक टन पुगेको छ।

गत वर्ष ५४ लाख ८६ हजार ४७२ टन धान फलेको थियो । गत वर्षको तुनलामा धान खेती भएको क्षेत्रफल भने घटेको छ । गत वर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा यो वर्ष ८ हजार ८ सय हेक्टर क्षेत्रफल घटेको छ। 

गत आर्थिक वर्षमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.७९ मेटन रहेकोमा यो वर्ष बढेर ३.९८ मेटन पुगेको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार यो वर्ष वर्षे धानको उत्पादन गत वर्षको तुलनामा ५.२० प्रतिशतले बढेर ५२ लाख ३ हजार ४२६ मेटन पुगेको छ। वर्षे धानको क्षेत्रफलमा ०.३७ प्रतिशतले कमी आए पनि उत्वादत्वमा वृद्धि भइ ३.९० मेटन प्रतिहेक्टर पुगेको छ।

समयमा उन्नत विउको उपलब्धता र प्रयोग, रोग किराको प्रकोपमा कमी, बाढी पहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरका कमी लगायतका कारणले धान उत्पादनमा वृद्धि भएको मन्त्रालयले जनाएको छ । 

मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयाेग र मौसमी अनुकूलतालाई मन्त्रालयले उत्पादन वृद्धिको कारण मानेको छ। 

यो वर्ष चैते धानको उत्पादन गत वर्षको तुलनामा ३.६१ प्रतिशतले घटेर ५ लाख २० हजार ८०८ मेटन उत्पादन भएको छ। चैते धानको यो वर्षको उत्पादकत्व ५.९७ मेटन प्रतिहेक्टर रहेको छ। यो वर्ष चैते धानको उत्पादकत्व र क्षेत्रफलमा पनि कमी आएको छ। 

समग्र धान उत्पादन तथा उत्पादकत्वमा गत वर्षको तुलनामा लुम्बिनी प्रदेश अग्र स्थानमा र मधेश प्रदेश ऋणात्मक देखिएको छ।