लगानीको सम्भाव्य चार क्षेत्र उत्कृष्ट: अर्थमन्त्री डा. महत


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताएका छन् । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताएका हुन्।

जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका उत्कृष्ट गन्तव्य हुन सक्ने उनकाे भनाइ छ । यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने भए पनि यी क्षेत्रमा मात्रै लगानी गर्न सरकारले प्रोत्साहन नगर्ने उनको भनाइ थियो । “यी चार क्षेत्र लगानीका मुख्य आकर्षण रहेको छ,” उनले भने, “यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्दा उत्कृष्ट प्रतिफल प्राप्त हुनसक्छ ।”

उनले जलविधुत क्षेत्रमा नेपालले फड्को मारेको र भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता गरेको अवस्थामा अन्य वस्तुहरुको निर्यातमा पनि निजी क्षेत्रले ध्यान दिनुपर्ने बताए ।

नेपालबारे अस्थिर राजनीतिक व्यवस्था रहेको गलत प्रचार भइरहेकोमा आपत्ति जनाउँदै उनले नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको दाबी गरे । मन्त्री डा. महतले भने, “नेपाल दक्षिण एसियाकै उत्कृष्ट लगानी गन्तव्य बन्न सक्छ ।”

आगामी दिनमा व्यवसायिक वातावरण थप मजबुत बन्ने उनकाे भनाइ थियाे । उनले नेपाल–भारत व्यवसायिक सम्मेलनमा सहभागी सबै भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे ।

मन्त्री डा. महतले वैशाखमा लगानी सम्मेलनको आयोजना गर्न लागेको स्मरण गराउँदै उनले लगानीसम्बन्धी सम्पूर्ण कानुन, नीति नियम सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । लगानीलाई सहज गर्न पुराना कानूनहरुलाई परिमार्जन गर्दै लैजाने उनको भनाइ थियो ।

नेपालमा सयौं पर्यटकीय स्थल भए पनि सडकको अवस्थाका कारण त्यसको पूर्ण उपयोग गर्न नसकिएको मन्त्री डा. महतले बताए । आगामी दिनमा सडक निर्माणमा समेत ध्यान दिइने उनले बताए । उनले नेपालका निजी क्षेत्र र भारतको निजी क्षेत्रबिच सहकार्य गरेर व्यवसाय तथा लगानीका लागि काम गर्न सुझाव दिए । लगानी सम्मेलन अगाडि विदेशी लगानीकर्ताले नेपालको लगानी सम्भाव्यताबारे जानकारी लिन अर्थमन्त्री डा. महतले आग्रह गरे ।