सिबिफिनको अध्यक्षमा उपेन्द्र पौडेल


काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले दिएको राजीनामा सिबिफिन कार्यसमितिको बैठकले स्वीकृत गरेको छ ।

सिबिफिन कार्यसमितिको पौष २५ बसेको १५औँ बैठकले गोल्यानको राजीनामा स्वीकृत गरेको हो ।

एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । गोल्यानकै विशेष अगुवाईमा वि.सं. २०७६ सालमा सिबिफिनको स्थापना भएको थियो ।

निवर्तमान अध्यक्ष गोल्यानले राजीनाामा दिएसँगै रिक्त रहेको अध्यक्ष पदमा कार्यसमिति सदस्य उपेन्द्र पौडेललाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।

परिसंघको वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा बसेको कार्यसमितिको १५ औ बैंठकले नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

अध्यक्षमा सर्वसम्मत भएका पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् । सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात उनी नबिल बैंकको सञ्चालकहुँदै हाल अध्यक्षको जिम्मेवारीमा छन् ।