परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी भारतबाट रु.६३ अर्ब बढीकाे आयात


काठमाडौं । पछिल्लो पाँच महिनामा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.६३ अर्ब ६६ करोड बराबरको वस्तु आयात भएकाे छ ।

नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको देशको वर्तमान वित्तिय विवरण अनुसार चालु आर्थिक वर्ष २०८०–८१को पछिल्लो पाँच महिनामा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी भारतबाट रु.६३ अर्ब ६६ करोड बराबरको वस्तु आयात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.५० अर्ब २० करोड बराबरको भएको थियो।

समिक्षा अवधिमा कुल वस्तुघाटा ३.१ प्रतिशतले घटेर ५ सय ७९ अर्ब रहेको छ । यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा १८.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.१ प्रतिशत रहेको थियो।

चालु आर्थिक वर्षको पहिलो पछिल्लो पाँच महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले कमी आई रु.६३ अर्ब २१ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४.६ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ११.३ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३२२.३ प्रतिशत र २.३ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, पोलिस्टर धागो, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको राष्ट्रबैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को पाँच महिनामा कुल वस्तु आयात ३.४ प्रतिशतले कमी आई रु.६४२ अर्ब २१ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः १.३ प्रतिशत र २८.४ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३२.८ प्रतिशतले बढेको छ ।