कृषि उद्यमशीलताका लागि झापाको कनकाई नगरपालिका र जनता एग्रोबिच सम्झौता


काठमाडौँ। झापाको कनकाई नगरपालिका र जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडकाबिच स्वउद्यमशीलताको विकास तथा प्रवद्र्धन गर्ने सम्बन्धि सम्झौता भएको छ।

शुक्रवार काठमाडौँमा एक कार्यक्रमकाबिच नगरपालि प्रमुख राजेन्द्र कुमार पोखरेल र  जनता एग्रोका अध्यक्ष पवन कुमार गोल्याणले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

व्यवसायिक कृषि, वनपैदावर, जडिबुटी, तथा अन्य सम्बन्धित व्यवसायको विकास गर्दै नयाँ उद्यमी तथा स्वउद्यमशीलताको विकास एवं विस्तार गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल तथा दिगो बनाउने उद्देश्यले सम्झौता गरिएको हो।

पालिका प्रमुख पोखरेलले बिपन्न तथा पिछडिएका वर्ग, युवा तथा महिला र वैदेशिक रोजगारबाट फर्केका जनशक्तिलाई केन्द्रमा राखेर अर्थोपार्जनका लागि नयाँ आयाम थपिएको बताए । 

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा पालिका उपप्रमुख, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृतहरुसमेतको उपस्थिति रहेको थियो। करार खेतीको प्रवद्र्धन गर्दै कृषि प्रवद्र्धन गर्न सम्झौता कोशेढुंगा सावित हुने जनता एग्रोका अध्यक्ष पवन गोल्याणले बताए।

वर्षौँदेखि नेपालको कृषि क्षेत्रमा आफूले माटो ब्राण्डबाट योगदान गर्ने कोसिस गरेको र अब जनता एग्रो पब्लिक कम्पनीबाट कृषि क्षेत्रमा सक्रिय रहने गोल्याणको भनाइ छ। 

सम्झौतापत्रमा करारखेतिका माध्यमबाट कृषि उत्पादनमा बढोत्तरी, रोजगारी सिर्जना, उद्यमशीलता विकास लगायतका विषय प्राथमिकतामा राखिएको छ। 

लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय स्थापना, विकास तथा विस्तारमा सहजीकरण गर्ने, व्यवसाय संचालनका लागि आवश्यक जग्गा, लगानी, औधोगिक यन्त्र, मल, बीउविजनलगायतका आवश्यक सामाग्रीहरुको उपलब्धतामा सहजीकरण गर्ने र उत्पादन तथा बजार व्यवस्थापनमा सहयोग पु-याउने लगायतका विषय सम्झौतपत्रमा समेटिएको छ। 

सम्झौता अनुसार नगरपालिकाले व्यवसायिक कृषिसँगसम्बन्धित विभिन्न परियोजनाका लागि आवश्यक आर्थिक स्रोत व्यवस्थापन गर्ने/गराउने, स्थानीय कच्चा पदार्थको प्रयोगबाट स्थापना हुन सक्ने लघु, घरेलु, साना तथा मझौला उद्योगको पहिचान गर्ने/गराउने लगायतका दायित्व वहन गर्नुपर्नेछ । 

जनता एग्रोको जिम्मेवारीतर्फ विषयविज्ञहरुको व्यवस्थापनसहित सीपमूलक तालिम कार्यक्रम संचालन गरी दक्ष जनशक्ति तयार गर्ने, दक्ष जनशक्ति र उनीहरुलाई उपयुक्त व्यवसायको लागि सिफारिससहित आवश्यक सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंक तथा वित्तिय संस्थाहरुसँग संयोजन गर्ने र संचालित उद्योग व्यवसायहरुको प्रबद्र्धन तथा स्तरोन्नतिका कार्यक्रम संचालन गर्ने जिम्मेवारी रहेका छन्।

व्यवसाय संचालनार्थ आवश्यक औधोगिक यन्त्र, प्रांगारिक बीउबिजनलगायतका कच्चा पदार्थहरुको सहज उपलब्धता गराउन सम्बद्ध पक्षबिच पुलको काम गर्ने, उत्पादित बस्तु तथा सेवाको व्यवस्थापनमा सहयोग गर्ने तथा बजारीकरण गरिदिने व्यवस्था मिलाउने, पालिका सँगको समन्वयमा करार सम्झौता गरी कृषि उत्पादनमा संलग्न किसानहरुको उत्पादनको उचित समर्थन मूल्य किटान गरी खरिद गर्ने व्यवस्था मिलाउने कार्य जनता एग्रोको जिम्मेवारी राखिएको छ। 

पालिकालाई आवश्यक पर्ने फलफुलका बोट तथा अन्य बिरुवा उचित मूल्यमा उपलब्ध गराउने र वृक्षारोपण तथा सोको संरक्षण र विकासको लागि समन्वय गर्ने, बैंकिङ पहुँच बृद्धि र विस्तारका कार्यक्रम संचालन गर्ने, वित्तीय साक्षरता, उपयुक्त व्यवसाय छनोट जस्ता अभिमूखिकरण तालिम संचालन गर्ने, विषय विज्ञहरुको पहिचान गर्न सहजीकरण गर्ने र अन्य आवश्यक समन्वय तथा सहजीकरण गर्ने विषय जनता एग्रो को जिम्मेवारीमा रहेको छ ।