माघ १० गतेदेखि बुक बिल्डिङमार्फत आइपीओ जारी गर्दै रिलायन्स स्पिनिङ्ग मिल्स


काठमार्डौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक विल्डिङ प्रक्रिया मार्फत सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा यही माघ १० गतेदेखि योग्य संस्थागत लगानीकर्ताको लागि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतटले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले अनुमति पाएको कुल सेयरमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताहरुका लागि बोलकबोल मार्फत सेयर बिक्री खुला गर्न लागेको हो ।

सेयरको बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागी बोलकबोल प्रणालीमार्फत सेयर बिक्री गर्न लागेको हो।

योग्य संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गई फाराम भरेर शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरुलाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ।

कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गरिनेछ।

कटअफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग भए धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गरिनेछ । त्यस्तै कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाँडफाँट गरिने छैन ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेको ७ दिनभित्र सर्वसाधारणलाई छुट्टाएको ६० प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्न धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेश गर्नेछ ।

सर्वसाधारणलाई कट अफ मूल्यमा १० प्रतिशत छूट प्रदान गरी आईपीओ निष्कासन गरिनेछ ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।