स्थानीय तहको उत्पादन र परिकार प्रवर्द्धन गर्न मौलिक भान्छाघरकाे ८४ व्यञ्जन मेला सुरू


काठमाडौँ । ‘बसे पनि शहर, गाउँ कैँ खाने रहर, स्वादका लागिभन्दा स्वास्थ्यका लागि खाऔँ’ भन्ने नाराका साथ काठमाडौँको बुढानिलकण्ठ वडा नम्बर १० कपनस्थित मौलिक बजार तथा मौलिक भान्छाघरले जैविक विविधता दिवस तथा माघे संक्रान्तिको अवसरमा मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला सुरू गरेको छ ।

मौलिक चाडपर्व, संस्कृति र मौलिक परिकार तथा स्थानीय उत्पादनहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा  प्रवर्दन गर्ने उद्देश्यले सुरू भएको मेलाको औपचारिक उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दे कृषि मन्त्री भुसालले कृषि उत्पादन वृद्धि गर्न मौलिक तथा रैथाने उत्पादन जोगाउँदै जानुपर्ने आजको आवश्यकता भएको बताए । “मौलिक बजारले ७५३ स्थानीय तहको कृषि तथा मौलिक उत्पादनको बजारीकरणका लागि सुरू गरेको प्रयास निकै राम्रो लाग्यो,” उनले भने, “यस्ता खालका अभियान तथा कार्यलाई हामीले व्यापक रूपमा अघि बढाउनुपर्छ ।”

मन्त्री भुसालले कृषिजन्य वस्तुको उत्पादनको वृद्धि गर्नका लागि छिट्टै कृषि ऐन ल्याउने तयारी भइरहेको समेत जानकारी दिए ।

कार्यक्रममा मौलिक बजार तथा मौलिक भान्छाघरका सञ्चालक सुमन दाहालले सरकारको सामान्य सहजीकरणले पनि ७५३ वटै स्थानीय तहको उत्पादनको ब्रान्डिङ गर्दे सबै पालिकाहरूमा खरिद बिक्री केन्द्र सञ्चालन गर्न सकिने बताए ।

स्थानीय उत्पादनको बजारीकरण र खपतका लागि प्रत्येक पालिकाकको क्यान्टीनमा मौलिक परिकारको मेनु सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

मौलिक चाडपर्व, संस्कृति र मौलिक परिकारहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मौलिक बजार तथा मौलिक भान्छाघर गर्ने मौलिक बजार तथा मौलिक भान्छाले यही माघ १ गते देखी ७ गते सम्म २००० भन्दा बढी आगन्तुक भित्राउने लक्ष्य सहित मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला आयोजना गरेको हो ।

कार्यक्रममा माघे संक्रान्ति तथा ७ प्रदेश विशेष परिकार र ८४ व्यञ्जनका साथै सांस्कृतिक कार्यक्रमको साथमा सातै प्रदेशका स्थानिय पालिकाको उत्पादनको स्टल र ४२ व्यञ्जनको बुफेट समेत रहनेछ ।

७ प्रदेश–७ परिकार, ७ पन्छी–७ स्वाद, ७ संस्कृति–७ पहिरन, सातै दिन सांस्कृतिक साँझको व्यवस्था हुनेगरी मेला आयोजना भएकाे छ ।