मौसम अनुकूल बीउको सञ्चितीकरण र जगेर्ना गर्नुपर्छ: मन्त्री भुसाल


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मौसम अनुकूल बीउको सञ्चितीकरण र जगेर्ना गर्नुपर्ने बताएका छन् । आज (विहिबार) कृषि विभागमा आयाेजित दोस्रो राष्ट्रिय कृषि जौविक विविधता दिवस एंव सप्ताहको मूल समारोहमा बोल्दै मन्त्री भुसालले मुलुकलाई खाद्यमा आत्मनिर्भर बनाउन र अर्थतन्त्र बलियाे बनाउनकाे लागि रैथाने बीउकाे सञ्चितीकरण र जगेर्ना गर्नु आवश्यक रहेकाे बताएका हुन् ।

उनले भने, “हामीले जैविक विविधताको चर्चा गरिरहेका छौँ । एकातर्फ हामीले रैथाने बालीको संरक्षण गर्नुपर्ने छ । हाम्रा परम्परादेखि प्रयोग भएर आएका रैथाने बाली, पशुपंक्षीहरूको संरक्षण पनि गर्नुपर्ने छ । साथै हाम्रा चुनौति उत्पादन वृद्धि गर्नुपर्नेछ । हामीले तिनै रैथाने बालीबाट हामीलाई चाहिने जति उत्पादन गर्नसक्छौँ की सक्दैनौँ ? यो एउटा गम्भीर प्रश्न हाम्रासामु छ ।”

उनले वातावरणीय परिवर्तनसँगै धेरै खालका जीवजन्तु र वनस्पतिहरूको जीवनलिला समाप्त भएको दाबी गरेका छन् । “अहिले पनि हाम्रो जलवायु परिवर्तन त व्यापक रूपमा हुँदै गइरहेको छ । यस्तो परिस्थितिमा सबै बाँच्छन् भन्न सकिँदैन । भुगोलमा वस्तुगत अस्तित्वमा । तर कम से कम लिपिवद्ध गरेर राख्ने हो भने त्यो लेखनमा त बाँच्छ नि,”उनले भने ।

उनले रैथाने बालीकाे उत्पादन याे भन्दा बढी गर्न सकिन्छ की सकिँदैन भन्ने विषयमा अध्ययन गर्न आवश्यक रहेकाे बताए । उनले भने,” यिनीहरूलाई बढी उत्पादनशील बनाउन सकियो भने त हामीले अर्को बीउ खोज्न परेन । उत्पादनमा वृद्धि गर्न नसक्ने हो भने यिनीहरूको संरक्षण निश्चित क्षेत्रमा राखेर गरौँ । उत्पादन बढी गर्न अर्को बढी उत्पादनशील बीउको प्रयोग गर्नैपर्छ । नत्र भने खाद्यान्नमा संकटमा जाँदैछौँ । एकातिर रैथाने जैविक विविधता संकटमा परे भन्दैछौँ । अर्कोतर्फ खाद्य संकटमा परेका छौँ । खाद्य संकट र यिनीहरूको संकटको पनि समाधान गर्नुपर्नेछ ।”

भुसालले संसार रासायनिक मलको प्रयाेग कम गर्नुपर्छ भनेर अघि बढ्दा नेपालमा भने बढी रासायनिक मलको आयात हुने गरेकाे बताए । उनले कुल बजेटकाे ३० अर्ब जतिकाे रासायनिक मलकाे लागि छुटाउने गरेकाे बताउँदै अगामी दिनमा रैथाने बालीकाे उत्पादनमा जाेड दिएर प्राङ्गारिक मलकाे प्रयाेग व्यापक रूपमा अघि बढाउनुपर्ने बताए । उनले भने,”यसलाई कसरी विस्थापित गर्ने भन्ने सोच्न जरुरी छ । धानको उत्पादन बढ्दै गएको छ उत्पादन बढाउँदै रैथाने बालीकाे संरक्षण गर्नुपर्छ ।”

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले मन्त्रालयले लामो समय देखि रैथाने उत्पादनकाे संरक्षणदेखि उत्पादनमा वृद्दि गर्नकाे लागि विभिन्न काम गर्दै आएकाे बताएका छन् । उनले भने, “यसरी रैथाने बालीहरूको बहुआयामिक महत्व र फाइदाको कारण नेपालमा विगत केही समयदेखि यस्ता बालीको संरक्षण र प्रवर्धनका लागि सरकारी र गैरसरकारी एवं निजी क्षेत्रबाट विभिन्न प्रयासहरू हुँदै आएका छन्।”

कृषि विभागका महानिर्देशक डा. हरि बहादुर केसीले रैथाने बालीको संरक्षण गर्न र संसारभर चिनाउनको लागि सरकारको नीति निर्देशनमा काम गनुपर्ने बताए । उनले देशभरका प्रत्येक पालिकामा एउटा बिउ बैंक संचालनमा ल्याउनुपर्ने बताए । उनले भने, “त्यो गर्दा बजेट अपुग होला तर त्यसलाई संसारभर चिनाउनको लागि बिउ बैंक संचालनमा ल्याने हो भने यसको प्रवद्र्धन हुने थियो ।” उनले शहरमा बस्ने मानिसले रैथाने बालीहरूको उपयोग गरेर यसको माग र आपूर्ति बढाउनको लागि समेत अपिल गरेका छन् ।