पुरानो लाभांश लिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको अनुरोध


काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । बैंकले एक सूचना जारी गर्दै लामो समयसम्म आफ्नो लाभांश लिन नगएका सेयरधनीलाई लाभांश लिन अनुरोध गरेको हो ।

आर्थिक वर्ष २०७४/७५ देखिको नगद लाभांश एक महीनाभित्र भुक्तानी प्राप्त गर्न पनि कम्पनीले सेयरधनीलाई भनेको छ । अन्यथा बैंकले उक्त अवधि पश्चात भुक्तानी हुन बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि बताएको छ ।

हालसम्म नगद लाभांश लिन बाँकी सेयरधनीहरुले हितग्राही खाता नखोलेको भए हितग्राही खाता खोली भौतिक सेयरहरु अभौतिकरण गर्न पनि बैंकले सुझाएको छ ।

कम्पनीले साधारण सभाले पारित गरेको मितिले ५ वर्षसम्म पनि कुनै सेयरधनीले नलिएको नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानूनी व्वस्था भएको उल्लेख गरेको छ ।