सिटिजन्स बैंकको नाफा घट्यो


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिममिटेडको नाफा ६.९६ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८० ८१ को दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ६.९६ प्रतिशतले घटेको देखिएको हो ।

यो अवधिमा बैंकले ७८ करोड २७ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले ८४ करोड १३ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । बैंकले २ अर्ब ८३ करोड ९८ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.२१ प्रतिशतले घटेको हो ।

बैंकमा निक्षेप र कर्जा प्रवाह भने बढेको छ । यो अवधिमा बैंकको कर्जा प्रवाह ६.०६ प्रतिशत र बैंकमा निक्षेप ४.१३ प्रतिशतले बढेको छ । बैंकमा १ खर्ब ७५ अर्ब ८० करोड ८० लाख ७३ हजार रुपैयाँ निक्षेप रहेको छ । बैंकले १ खर्ब ४८ अर्ब ३० करोड ४१ लाख ६७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको खराब कर्जा बढेर ४.०७ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ११.०२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४६.२० रुपैयाँ रहेको छ ।