विद्युतीय सवारीको आयात बढ्दो, पुसमा भित्रियो १ हजार बढी गाडी


काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयात बढेको छ । चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुस) मा ५ हजार ५ सय ४६ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएको छ ।

भन्सार विभागले आज (आइतबार) सार्वजनिक गरेको तथ्यांक अनुसार पुस महिनामा मात्रै १ हजार ४२१ युनिट विद्युतीय गाडी आयात भएका छन्।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको छ महिनामा १२ अर्ब ३० करोड बराबरको ५ हजार ५ सय ४६ युनिट विद्युतीय गाडी आयात भएका छन्। जसबाट ५ अर्ब ७३ करोड रुपैयाँ भन्सार शुल्क संकलन भएको छ।

त्यस्तै ६ महिनामा ५० किलोवाटसम्मका कार जिप २ हजार ५६ वटा आयात भएका छन्। ५१ देखी १०० किलोवाटसम्मको २ हजार ९७० वटा गाडी भित्रिँदा १०० देखि २०० किलोवाटका ६८ वटा भित्रिएको भन्सार विभागले उल्लेख गरेको छ।

पछिल्लो समय व्यवसायी र सरकारले नै विद्युतीय गाडी आयातलाई प्राथमिकता दिँदै आएको छ। विद्युतीय सवारी साधन सञ्चालनलाई प्रोत्साहन गर्ने नीतिहरूका कारण आयात बढेको भन्ने बुझिन्छ।

नेपालमा सबैभन्दा धेरै गाडी चीन, भारत, अमेरिका, इन्डोनेसिया, ,जर्मनी र कोरियाबाट भएको तथ्यांकले देखाएको छ।