एन आई सी एशिया बैंकको नाफा ४१.८४ प्रतिशतले घट्यो


काठमाडौँ। एन आई सी एशिया बैंकको नाफा ४१.८४ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८० ८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा ४१.८४ प्रतिशतले घटेको देखिएको हो ।

यो अवधिमा बैंकको खुद नाफा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेको छ । बैंकको खुद ब्याज आम्दानी घटेर ५ अर्ब ५४ करोड १४ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको संचालन नाफा पनि २४.१३ प्रतिशत र कुल संचालन आम्दानी पनि ४.९६ प्रतिशतले घटेको छ । बैंकको संचालन नाफा ३ अर्ब ५६ करोड १० लाख र कुल संचालन आम्दानी ७ अर्ब १२ करोड ४६ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको खराब कर्जा बढेको छ । बैंकको खराब कर्जा १.१९ प्रतिशत पुगेको छ । वितरणयोग्य नाफा पनि ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणले देखाएको छ ।

बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । बैंकको प्रतिशेयर आम्दानी २५.५२ रुपैयाँ रहेको छ । । प्रतिसेयर नेटवर्थ पनि घटेर २०५.१ रुपैयाँमा झरेको छ ।