लुब्रिकेन्ट बजार: संघर्षले सफलतातर्फ स्वदेशी ब्राण्ड


नेपालमा वार्षिक १२ अर्ब रुपैयाँ बराबरको लुब्रिकेन्टको कारोबार हुन्छ । नेपाली उद्योगले उत्पादन गर्ने लुब्रिकेन्टको भने बजार हिस्सा ५ अर्ब रहेको छ। अहिले एउटै नेपाली कम्पनीले डेढ अर्वसम्मको व्यापार गर्ने गरेका छन् ।

———

विश्वव्यापी रूपमा विभिन्न राष्ट्रहरूले वातावरणमा हुने उत्सर्जन नियन्त्रण गर्न कडा उपायहरू घोषणा गरेसँगै अटोमोटिभ बजार इलेक्ट्रिक सवारी साधनतर्फ दौडिएको छ । नेपाल भने अझै पनि ‘इन्टरनल कम्बसन इन्जिन(आइसिई)’बाट सञ्चालित सवारी साधनहरूको बजार सम्भावना भएको मुलुक मानिन्छ । यस्ता सवारी साधनमा इन्जिनलाई सहज तरिकाले चलाउन आवश्यक पर्ने लुब्रिकेन्टका लागि नेपाल आकर्षक बजार हुँदै आएको छ ।

लगानी र बजार 

नेपालमा वार्षिक १२ अर्ब रुपैयाँ बराबरको लुब्रिकेन्टको कारोबार हुन्छ । नेपाली उद्योगले उत्पादन गर्ने लुब्रिकेन्टको भने बजार हिस्सा ५ अर्ब जति रहेको व्यावसायीहरू बताउँछन् । नेपाली उद्योगहरूले वार्षिक ३० हजार किलोलिटर लुब्रिकेन्ट उत्पादन गरिरहेका छन् । विदेशबाट आयातितले ओगटेको यो बजारमा पकड जमाउन नेपाली उद्योगीहरूले कोसिस गरिरहेका बेला ४० वर्षको अवधिमा बजार हिस्सा बल्ल ३५ प्रतिशत पुगेको छ ।

अहिले एउटै नेपाली कम्पनीले डेढ अर्वसम्मको व्यापार गर्ने गरेका छन् । यस्ता उद्योगमा १५ करोडदेखि १ अर्ब रुपैयाँसम्म लगानी छ । नेपाली उद्योगले कच्चा पदार्थ विदेशबाट ल्याएर लुब्रिकेन्ट तयार गरेर बिक्री गर्छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसनको लुब्रिकेन्ट कमिटीका सभापति सुरेन्द्र उप्रेतीले नेपाली उद्योगहरूले ब्रेक आयल, ग्रिज, इन्जिन आयल, गियर आयल, हाइड्रोलिक आयल लगायतका करिब ४० देखि ४५ प्रकारका लुब्रिकेन्ट नेपालमा उत्पादन भइरहेको बताए । उनले भने,“नेपाली ब्राण्डहरू राम्रो हुँदै गएका छन् तर अझै मेहनत गर्नुपर्नेछ ।” नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज,नेपाल पेट्रो केमिकल जस्ता उद्योगहरू भने थोरै उत्पादन गर्नेमा पर्छन् । यी उद्योगहरूको लगानी १५ करोडदेखि ५० करोड रूपैयाँसम्म छ ।

युनाइटेड लुिब्रकेन्ट प्रालिका कार्यकारी निर्देशक दिपेन्द्रकुमार मिश्रका अनुसार नेपालमा ९० करोडदेखि १ अर्ब रुपैयाँको लुब्रिकेन्ट्स यातायात क्षेत्रले र २५ देखि ३५ करोड रुपैयाँ बराबरको औद्योगिक क्षेत्रले मासिक खपत गर्छन्। यातायात क्षेत्रमा खपत हुने लुब्रिकेन्ट्समध्ये ६० प्रतिशत ठुला र ४० प्रतिशत हलुका सवारी साधनहरू कार र मोटरसाइकलमा प्रयोग हुन्छ । 

लामो समयदेखि अटोमोबाइल क्षेत्रमा रहेका पूर्वाञ्चल ल्युब आयलका प्रबन्ध निर्देशक कृष्णप्रसाद दुलालले वि.स. २०५४ सालमा नेपालमै लुब्रिकेन्ट उद्योग स्थापना गरेका थिए । सानाठुला गरेर नेपाली लुब्रिकेन्ट उद्योगको संख्या १० पुगेको छ । विदेशबाट अनियन्त्रित रूपमा आयात भइरहेका कम गुणस्तरीय लुब्रिकेन्टका कारण नेपाली लुब्रिकेन्ट उद्योगले उल्लेखनीय प्रगति गर्न नसकेको उद्योगीहरूको दाबी छ । 

पूर्वाञ्चल ल्युब आयलका प्रबन्ध निर्देशक दुलालले भने,“भारतमा कोठामा बसेर बनाएको लुब्रिकेन्ट पनि नेपाली बजारमा भित्रिएका छन् । सरकारले बिना गुणस्तर परीक्षण गरी लुब्रिकेन्ट भित्र्याइ दिइरहेको छ । यसले स्वदेशी उद्योग मर्कामा छन्।”

एचपी लुब्रिकेन्ट कार्यकारी निर्देशक अंकुश खनालका अनुसार औद्योगिक उत्पादनका लागि नेपालमा ठुलो सम्भावना छ । खनालले एचपीले विगत पाँच वर्षमा औद्योगिक लुब्रिकेन्टको बिक्री ५ प्रतिशतबाट ३० प्रतिशतमा पु¥याएको अनुभव सुनाए । सडकमा २० लाखभन्दा बढी सवारीसाधन सञ्चालन भइरहेका छन् । प्रत्येक वर्ष ३० देखि ४० प्रतिशतले अटोमोबाइल क्षेत्र वृद्धि भइरहेको छ । जसअनुसार लुब्रिकेन्टको माग पनि बढ्नु स्वभाविक रहेको नाडा लुब्रिकेन्ट समितिका सभापति उप्रेतीले बताए ।

अन्तर्राष्ट्रिय ब्रान्डहरूको रजगज

नेपाली लुब्रिकेन्टले आफ्नो विस्तार बढाए पनि अझै विदेशी ब्रान्डको प्रभुत्व रहेको छ । क्यास्ट्रोल, टोटल, सर्वो, मोबिल, गल्फ आदि प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डले नेपाली बजार ओगटेका छन् ।             

क्यास्ट्रोल दुई दशकदेखि नेपाली बजारमा छ र लगभग यसले १५ प्रतिशतको नेपाली बजार हिस्सा ओगटेको दाबी छ। नेपालमा क्यास्ट्रोल लुब्रिकेन्ट्सको आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्न प्रालि (एनओटीस)का मार्केटिङ म्यानेजर अमरज्योति रञ्जितले आफूहरूले बेलायतमा रहेको पेट्रोकेमिकल जायन्टको ब्रान्ड नेपालका ३० ओटा वितरण च्यानलबाट नेपालमा वितरण गरेको बताए। 

“अहिले हामीले बजारमा ९० प्रतिशत खनिजमा आधारित र १० प्रतिशत सिन्थेटिकमा आधारित इन्जिन आयल वितरण गरिरहेका छौँ,” एनओटीसीका मार्केटिङ म्यानेजर रञ्जितले भने । उक्त कम्पनीले दुईपांग्रे, कार र हेभी भेइकलमा क्रमशः एक्टिभो, जीटीएक्स र भेक्टोनलगायत लोकप्रिय क्यास्ट्रोल ब्रान्ड बिक्री गर्दै आएको छ ।

बजार विस्तार 

बढ्दो सवारीको आयातसँगै लुब्रिकेन्टको खपत पनि बढेको तथ्याङ्कले देखाउँछ । नेपाली बजारमा स्वदेशी मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गुणस्तरीय लुब्रिकेन्टको सहज उपलब्धता भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको लुब्रिकेन्ट समितिका सभापति उप्रेतीले दाबी गरे । नेपाली बजारमा ६० भन्दा बढी ब्रान्डका लुब्रिकेन्ट उपलब्ध छन् । 

पिएलओ, कन्ट्रोल एमबी ल्युब र सुपरब, युनाइटेड जस्ता घरेलु ब्रान्डहरू नेपाली बजारका मुख्य खेलाडी हुन् । विस्तारै सवारी साधनको ब्रिकी बढेसँगै यसको बजार पनि बढेको छ । त्यस्तै पूर्वाञ्चल ल्युब आयलले पिएलओ लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ भने कन्ट्रोल, एमबी ल्युब र सुपरब क्रमशः फुजिमा आयल कम्पनी, एमबी पेट्रोल्युब इन्डस्ट्रिज र सुपरब ल्युबले पनि उत्पादन गर्दै आएका छन् ।

पछिल्लो समय नेपाल ल्युब आयलको वार्षिक कारोबार १ अर्ब २० करोड रुपैयाँ बराबरको छ । यो कम्पनीले हाल वार्षिक ३ हजार किलोलिटर लुब्रिकेन्ट बिक्री गर्दै आएको छ । कम्पनीले आफ्नो बजार हिस्सा २८ प्रतिशत रहेको दाबी गर्छ । यो कम्पनीले गल्फ लुब्रिकेन्ट उत्पादन गर्छ ।

यसैगरी, फुजिमा आयल कम्पनीले आफ्नो बजार हिस्सा २६ प्रतिशत दाबी गर्छ । वार्षिक २ हजार ५ सय किलोलिटर लुब्रिकेन्ट उत्पादन गरिरहेको कम्पनीले गत वर्ष १ अर्व रुपैयाँ बराबरको कारोबार गरेको थियो । पूर्वाञ्चल ल्युब आयलले आफ्नो बजार हिस्सा २० प्रतिशत रहेको बताउँछ । २ हजार किलोलिटर लुब्रिकेन्ट उत्पादन गरिरहेको यस कम्पनीले हाल करिब ८० करोडदेखि १ अर्ब बराबरको कारोबार गरिरहेको छ । 

यसैगरी अन्य साना कम्पनीहरूको बजार हिस्सा ६ प्रतिशत छ । जसमा स्मार्ट लुब्रिकेन्ट, बतासको बीटीएस पेट्रोलियम, नेपाल गोल्ड, मोटोरोल लुब्रिकेन्ट लगायतका कम्पनीहरू छन्, जसको वार्षिक कारोबार २५ करोडदेखि ३० करोडको अनुमान छ । 

युनाइटेड लुब्रिकेन्ट प्रालिका कार्यकारी निर्देशक मिश्रले बजारमा स्वदेशी ब्रान्डको उपस्थिति बढ्दै गएको र जसले आयातित लुब्रिकेन्टमाथिको निर्भरता घटाउन मद्दत गरेको बताए । लुब्रिकेन्टको बोतल र प्याकेजिङबाट मात्रै सञ्चालनमा आएका स्वदेशी उद्योगहरूले अहिले आफ्नो गतिविधिलाई विस्तार गर्ने प्रयास गरिरहेका छन् । सरकारले स्वदेशी लुब्रिकेन्ट उत्पादन गर्ने कम्पनीलाई उद्योगको मान्यता दिने समय आएको मिश्रको तर्क छ । 

“दश प्रतिशत मूल्य अभिवृद्धि गरेर उत्पादन गर्ने उद्योगलाई ‘राष्ट्रिय उद्योग’ भन्न सकिन्छ भने हामीले किन मान्यता पाउन सक्दैनौँ ? हाम्रा उत्पादनहरू मूल्य अभिवृद्धि भएका छन्,” उनले दाबी गरे । मिश्रका अनुसार हाल युनाइटेडले बजारको १० प्रतिशत हिस्सा ओगटेको छ, वार्षिक ३० लाख लिटर लुब्रिकेन्ट बिक्री गर्छ। 

कच्चा पदार्थको पैठारीमा १५ प्रतिशत र विदेशी लुब्रिकेन्टमा २५ प्रतिशत भन्सार लाग्ने गरेको छ। “उद्योगहरूले स्वदेशमै उत्पादित औद्योगिक लुब्रिकेन्टहरू खरिद गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था कार्यान्वयनका लागि विभिन्न संघसंस्थासँग छलफल गरिरहेका छौँ” दुलालले भने।

बजारको समस्या

उत्पादकहरूले सरकारको नीतिहरूलाई घरेलु ब्रान्डहरूको विकासमा बाधा पु-याउने कारकको रूपमा औँल्याएका छन् । पीएलओका प्रबन्ध निर्देशक दुलाल भन्छन्, “सरकारले लुब्रिकेन्ट उत्पादनका लागि कच्चा पदार्थको आयातमा लगाइने विद्यमान १५ प्रतिशत भन्सार महसुलमध्ये कम्तिमा पनि पाँच प्रतिशत घटाएमा नेपाली ब्रान्डको हिस्सा सजिलै ५० प्रतिशतसम्म पुग्न सक्छ।” 

लुब्रिकेन्टको गुणस्तरबारे चेतनाको अभाव पनि यो व्यवसायको अर्को बाधक हो । युनाइटेड कार्यकारी निर्देशक मिश्रका अनुसार स्थानीय बजारमा प्रतिलिटर १०० रुपैयाँसम्म पाइने रिसाइकल गरिएको इन्जिन आयल धेरैले प्रयोग गर्ने गरेका छन् । “यस्ता प्रकारका लुब्रिकेन्टहरू इन्जिनका लागि सम्भावित रूपमा हानिकारक हुन्छन्,” उनी भन्छन्। 

मानिसहरूले गुणस्तरीय लुब्रिकेन्ट खरिद गर्नुको सट्टा कम मूल्य बिन्दुमा धेरै मात्रामा लुब्रिकेन्टहरू किनेको कार्यकारी निर्देशक मिश्रले बताए । बजारमा उपलब्ध लुब्रिकेन्टको ग्रेडिङका लागि मापदण्ड तयार गरी कार्यान्वयन गर्न उनको सुझाव छ । एचपी लुब्रिकेन्ट कार्यकारी निर्देशक खनालका अनुसार उत्पादनको गुणस्तर र प्रयोगमा चेतनाको कमीका कारण ग्राहकले मेकानिक वा खुद्रा बिक्रेताले दिएको कुनै पनि लुब्रिकेन्ट किन्ने गरेकाले वास्तविक ब्रान्डको बजारमा असर परेको छ ।

लुब्रिकेन्टका आयातकर्ता र उत्पादकहरूले आफ्ना ग्राहकहरूलाई उत्पादनको गुणस्तरबारे शिक्षित गराउने प्रयासहरू पनि गरिरहेका नाडा अटोमोबाइल्स एसोसिएसन लुब्रिकेन्ट समितिका सभापति उप्रेतीले बताए । उनले भने,“ग्राहकहरूलाई उत्पादनको गुणस्तरबारे शिक्षित गराउने प्रयास भइरहेको छ । यसलाई हामीले प्राथमिकतामा राखेका छौँ ।” 

कच्चा पदार्थ आयात र अन्य विदेशी लुब्रिकेन्ट आयातको भन्सारदर खासै फरक नभएकाले नेपाली ब्राण्डको बजार हिस्सा नबढेको उद्योगी व्यवसायीको तर्क छ । मिश्रले भने,“कच्चा पदार्थ आयात र तयारी उत्पादन आयातमा भन्सार जम्मा १५ प्रतिशतको मात्र फरक छ । यसले मूल्यमा फरक नहुने मिश्रको भनाइ छ ।”

बाहिरबाट उत्पादन ल्याएर नेपालमा बिक्री गर्ने व्यवसायीहरूको मार्केटिङ र सरकारसँगको लबिङ राम्रो भएका कारण नेपाली उत्पादनले बजार हिस्सा बढाउन संघर्ष गरिरहेको व्यवसायीहरूको अनुभव छ । सरकारले स्वदेशी लुब्रिकेन्टमा विश्वास गर्न सक्ने खालको गुणस्तर तथा मापदण्ड सकेको छैन, जसले नेपाली उत्पादन प्रयोग गर्न नेपाली बजार उत्साहित हुन सकिरहेको छैन । 

थप नयाँ उद्योगहरू खुल्ने क्रममा छन्

कृष्णप्रसाद दुलाल

पूर्वअध्यक्ष, नाडा 

कार्यकारी निर्देशक, पीएलओ लुब्रिकेन्ट

लुब्रिकेन्टको बजार सवारी साधनको बजारको माग र आपूर्तिमा निर्भर हुने गर्छ । पूर्वधार विकासका कामहरू तीव्र रूपमा अघि बढे मात्रै यसको बजार पनि बढ्ने हो । विगतको तुलनामा यसको बजार २० देखि २५ प्रतिशत खस्किएको छ । आयात र उत्पादन दुबै घटेको छ । 

अन्तराष्ट्रिय बजारसँग निकै नै प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । नेपाली उत्पादनले ४० प्रतिशत बजारको माग धान्ने लक्ष्य बोकेका छौँ । त्यहीअनुसार काम पनि चलेको छ । आयातमा अलि कमी भएको कारणले पनि नेपाली उद्योगहरू चलेको अवस्था छ । 

खुल्ला सीमाना, चौरी पैठारीले यो क्षेत्रमा धेरै असर पारेको छ । केही उद्योगहरू खुल्ने क्रममै छन् । आयातमा थोरै कडाइ गर्ने हो भने यसको बजार राम्रो तरिकाले अघि बढ्छ । नेपाली उत्पादनलाई प्रयोग गर्नुपर्छ र भन्सार नाकामा कडाइका साथ लाग्नु पर्छ ।

सञ्चालनमा आएका उद्योगले मात्र माग धान्न असक्षम छन्

अंकुर खनाल

कार्यकारी निर्देशक,  एचपी लुब्रिकेन्ट

सवारी आयातमा प्रतिबन्ध लगाउँदा यसको बजारमा त्यस्तो ठुलो केही पनि समस्या भएको थिएन किनभने आयातमा प्रतिबन्ध लगाउँदा नयाँ गाडीमा लगाइएको थियो । अहिले अर्थतन्त्र चलायमान नहुँदा यो क्षेत्रले समस्या भोग्नु परेको छ। 

अहिलेको समयमा तराई क्षेत्रमा हुने अवैध आयातले यो क्षेत्रमा अलि बढी प्रभाव परेको छ तर सम्भवतः भारतबाट जुन तरिकाले आयात भएको छ, त्यो ब्रान्डले नेपालको उत्पादनलाई असर पारेको छ । समग्र रूपमा जति पनि यहाँका उद्योगहरू छन्, तिनीहरुले मात्रै यहाँको मागलाई धान्न सक्ने क्षमता रहेको भन्न मिल्दैन ।

सरकारले साथ दिए केही वर्षमा हामी आत्मनिर्भर हुन्छौँ

दिपेन्द्रकुमार मिश्र

कार्यकारी निर्देशक, युनाइटेड लुब्रिकेन्ट 

हरेक क्षेत्रलाई आर्थिक मन्दीले च्यापेको बेला लुब्रिकेन्टको बजार पनि पक्कै सहज रूपमा चलेको छैन । पहिले यसको बजार राम्रो तरिकाले अघि बढेको थियो तर अहिले यसको माग र आपूर्ति कम हुँदै गएपछि पहिलेभन्दा ६० प्रतिशत मात्र यसको व्यापार छ । कोभिडपछि यसको बजार राम्रै तरिकाले अघि बढेको थियो । 

कोभिडको बेलामा पनि अवैध आयात हुने सीमा नाका पनि बन्द भएपछि यसको बजार राम्रो चलेको हो तर अहिले आर्थिक मन्दीका कारण मान्छेसँग पैसा नहुँदा सबैको व्यापार घट्यो । आजको दिनमा सीमाबाट सस्तो सामग्री आयात हुने भएकाले जहाँ सस्तो पाउँछ, त्यहीँ नै गएर ग्राहकले खरिद गर्न लागे । त्यसले गर्दा पनि यो क्षेत्रमा भएका व्यवसायीहरूको बजार घटेको अवस्था छ । सरकारको सहयोग र साथ भए मात्र अबको केही वर्षमा नेपाली उत्पादन हाम्रो बजारलाई धान्नको लागि सक्षम हुन्छ ।

(टक्सार वर्ष ३, अंक ८, मङ्सिर २०८० बाट)