सवारी साधनबाट हुने प्रदुषण राेक्न नेपाल यूरो ६ मा जानुपर्ने विज्ञहरूकाे भनाइ


काठमाडाैँ । नाडा अटाेमाेबाइल्स एशाेसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले प्रदुषण मापदण्ड यूरो ६ कार्यान्व्यनका लागि सरकारले निश्चित समय दिनुपर्ने बताएका छन् । बिहिबार अटो पत्रकार संघ (जाम) को आयोजनामा सवारी प्रदुषण मापदण्ड यूरो ६ को कार्यान्वयन र समस्याको विषयमा भएको अन्तक्रिया कार्यक्रममा चौधरीले नाडा युरो ६ कार्यान्वयनको विरोधि नभएको बताउँदै यसमा याेजना बनाएर काम गरिरहेका बताएका हुन् ।

उनले सरकारले यूरो ६ लागू गर्ने तयारी गरिरहँदा यसकाे लागि व्यवसायीलाई पनि समय दिनुपर्ने बताए । “सरकारले पाँच बर्षको योजना निकालेर नीति बनाओस् त्यसमा व्यवसायीले साथ दिन्छन् । जुन दिनबाट यूरो ६ लागू गर्नुपर्ने सूचना निस्कन्छ सो दिनबाट व्यवसायीलाई समय दिएर सरकारले सहयोग गर्नुपर्छ । यूरो ६ मा जादाँ मेकानिक्सहरू पनि तयार हुनुपर्छ,” उनले भने ।

कार्यक्रममा वातावरण विज्ञ भुषण तुलाधरले ३० प्रतिशत प्रदुषण सवारी सधानबाटै हुने भएकाले नेपालमा जतिसक्दो छिटो यूरो ६ मा जानुपर्ने बताए । उनले भने, “अहिले नेपालमा आउने नयाँ प्यासेन्जर गाडीहरू यूरो ६ मै आधारित भएर आइरहेका छन् तर, समस्या भने पुराना सवारीको व्यवस्थापन अहिलेको आवश्यकता हो । विश्वमा यूरो ६ २०१४ देखिनै सुरू भएको हो । यूरो ३ लागू गरेको १२ बर्ष भइसकेको हुनले तत्काल नेपाल यूरो ६ जानुपर्ने आवश्यक छ।”

अटोमेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर न्यौपानेले अटोमेकानिक्सहरू राज्यको प्राथामिकतामा नपरेको बताए । “यूरो ६ होस् अथवा अन्य विषयमा होस् सरकारले हामीसँग सल्लाहा गर्नुपर्छ । हामी नै तयार नभइ सरकारले किन यूरो ६ लागू गर्न खोजेको हाे,” उनले भने, “अर्बैकाे लगानी सवारीसाधन व्यवसायमा छ तर, नयाँ सवारी प्रदुषण मापदण्डका लागि केहि बर्ष समय दिनुपर्छ ।”

वन तथा वातावरण मन्त्रालयका सिडिई (मेकानिकल) शिवराज शर्माले यूरो ६ कार्यान्व्यनका लागि एलसी खुलिसकेको र आयातका लागि प्रक्रिया अगाडी बढीसकेका गाडीहरूको लागि केहि समय दिने मन्त्रालयको तयारी रहेको बताए । उनले भने “कति समय दिने भन्ने विषय टुङ्गो नलागिसकेको र समय दिने विषयमा मन्त्रीज्युपनि व्यवसायीलाई समय दिने विषयमा सकारात्मक हुनुहुन्छ” । उनले मन्त्रालय दुई बर्ष अघि नै यूरो ६ मा जाने विषयमा तयार थियो तर, सरकारलाई बुझाउन समय लागेको उनले बताए ।

“अटोमेकानिक्सलाई तालिम दिनुपर्छ र यूरो ६ परिक्षण गर्ने उपकरणलाई भन्सार छुट दिनुपर्ने विषयमापनि छलफल भएको छ र यो विषयमा अर्थमन्त्रीपनि सकारात्मक भएको हामीले पाएका छौं,”उनले भने ।

वातावरण विभागका सिडिके दिपक ज्ञवाली यूरो ६ लाई लागू गराउन व्यवस्थापकिय भुमिकामा सबै व्यवसायी, सरकारले प्लान गरेर अगाडी बढ्नुपर्ने बताए । “पछिल्लो केहि समयदेखि ट्राफिक प्रहरी, वातावरण विभाग र यातायात विभागको सहकार्यमा प्रदुषण मापदण्ड चेकचाज भइरहेको छ”, उनले भने “सवारी मेकानिक्स व्यावसायीहरूसँग पनि सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक छ।”

त्यस्तै कार्यक्रममा यूरो ६ को बिषयमा सिप्रदि ट्रेडिङका प्रमुख कार्यकारी अधिकृति राजनबाबु श्रेष्ठले कर्मशियल गाडीहरूमा सबैभन्दा धरै बिएस ३ र बिएस ६ का धेरै गाडी गुडिरहेको बताए । “यूरो ६ को बिषयमा आवश्यक इकोसिस्टममा सिप्रदीले टेक्नीसियन, तालिम तथा उपकरणको बिषयमा पनि गृहकार्य गरिरहेको छ”, राजनबाबु श्रेष्ठले भने “लोकल टेक्निसियन तर्फपनि सिप्रदिले सवारी प्रदुषणको नयाँँ मापदण्डको विषयमा तयारी गर्दै आएका छौं” ।

अटो पत्रकार संघका अध्यक्ष सागर गजुरेलले २० बर्ष पुराना सर्वजनिक सवारीलाई हटाउने नीति कार्यान्वयन हुनुपर्ने बताए । सरकारले नेपाल आउने क्रममा रहेका र अर्डर भएको गाडीलाई समय दिएर नेपालमा नयाँ प्रदुषण मापदण्डमा जानुपर्ने उनकाे भनाइ छ ।