विश्वका नेपालीलाई नेपालमै विजनेशमा जोड्ने सपना


देश र माटोप्रतिका जिम्मेवारी जगाउनु पनि हो । सुरुमा विदेशीले नेपालमा लगानी गर्न नमान्दा अफ्ठेरो भएको थियो तर अब सबै तयार भएका छन् । हामीले मुलुकको समृद्धीका लागि केही पक्कै गर्नेछौँ ।

——

सन् १९९८ मा ‘आइडिया फर वल्र्ड’ जन्मियो । हङ्कङ्मा मुख्यालय रहेको यो कम्पनीमा विश्वभर छरिएका गैरआवासीय नेपाली अनि उनका विदेशी व्यवसायिक साझेदार जोडिए । गैरआवासीय नेपाली र तिनका साझेदारको विश्वव्यापी सञ्जाल नेपाल र नेपालीमाझ जोडिनुपर्ने आवश्यकता महसुस गरेर सन् २०१७ मा स्थापना भयो, ‘आइडिया फर नेपाल’। 

यसमा जोड गर्नेमध्ये थिए युवा उद्यमी इमरान अहमद खान । उनले भने, “विदेशमा बस्ने नेपालीलाई मात्रै जोडेर भएन नेपालीलाई पनि जोड्नुपर्छ भनेर आइडिया फर नेपाल तयार गरिएको हो ।”

रियलस्टेट, बैंकिङ र वित्त, खाद्य र पेय पदार्थ, स्वास्थ्य र सौन्दर्य, फिटनेस र यातायात, सूचना र प्रविधि, होटल र पर्यटन, उद्योग, आदि विश्वका विभिन्न देशमा ४ सयभन्दा बढी परियोजना सञ्चालन गरिरहेको समूहले बताएको छ । संस्था तयार गरेर विभिन्न क्षेत्रमा लगानी सुरु हुँदै थियो कोभिड–१९ सुरु भयो । कोभिडकाल र पोस्ट कोभिडले केही समय काम प्रभावित बनायो । उनले भने, “विदेशमा बस्नेलाई मात्रै होइन, नेपालीलाई पनि जोड्ने लक्ष्यका साथ काम सुरु गर्दै थियौँ, कतिपय ठाउँमा लगानी गर्न खोज्दै थियौँ र केहीमा लगानीसमेत भइसकेको थियो तर केही अप्ठेरो भयो ।”

आइडिया फर नेपालले विभिन्न ५२ क्षेत्रमा हात हाले पनि अहिले तत्कालका लागि १४ ओटा प्रोजेक्टमा आफ्नो ध्यान केन्द्रित गरेको छ । निर्देशक खानले भने, “सबैतिर हात हालेर पनि भएन बढी प्रतिफल दिनसक्ने क्षेत्र छनौट गरेर केन्द्रित भएका छौँ ।” 

नेपालमा लगानीका औजार सबै सक्रिय छैनन् । केही गर्न खोज्दा लगानी जुटाउनु अहिले पनि सबैभन्दा ठुलो चुनौती हो । निर्देशक खानले भने, “हो, लगानी हाम्रा लागि चुनौती त हो तर यसलाई हामी पार गछौँ ।” देश विदेशमा रहेका एक लाख नेपाली जोड्ने लक्ष्य कम्पनीको छ । लगानीका लागि १० लाख रुपैयाँसम्मका लागि बाटो खोलेको छ ।

आइडिया फर नेपालले घरजग्गा, पार्किङ्, कृषि, होटेल, ‘थी–डी’, एफ एण्ड बी परियोजना, खाद्यान्न आपूर्ति, विद्युतीय गाडी, मर्मतसम्भार, प्रविधि, बिजनेस सोलुसन, सहकारी, इन्स्योरेन्स,  जग्गा बैंक परियोजनालाई प्राथमिकतामा राखेको छ । लगानीकर्तालाई ‘फ्रि सेयर’ र ‘फ्रि जग्गा’को अवधारणासमेत ल्याएको छ ।

निर्देशक खानले भने, “सित्तैमा केही पनि आउँदैन तर हामीले केही अवधारणा लिएका छौँ, जसले लगानीकर्ताको लगानीमा सतप्रतिशत सुनिश्चिताको प्रयास हो । लगानी गर्दा सित्तैमा सेयर र सित्तैमा जग्गाको अवधारणा हामीसँग छ । यसका लागि ग्लोबल आइएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्ससँग सहकार्य गरेका छौँ ।”

कम्पनीले इन्स्योरेन्स र नियमित प्रतिफलयुक्त क्षेत्रको अवधारणासमेत अगाडि सारेको छ । कुनै पनि व्यक्तिलाई अहिले पनि विश्वास दिलाउनु ठुलो विषय छ । खान भन्छन्, “हामी युरोप अमेरिका मात्रै होइन, खाडी मुलुक बसिरहेका नेपालीका बिचमा पनि जान्छौँ । लगानीको महत्व र प्रतिफलबारे जानकारी गराउँछौँ । हजारौँलाई सहभागी गराउने हाम्रो लक्ष्य छ ।”

आइडिया फर वल्र्डमा झण्डै २ हजार गैरआवासीय नेपाली र ५ सय विदेशी जोडिएका छन् । विदेशीमा ठुलो हिस्सा चाइनिज मूलका छन् । आइडिया फर वल्र्ड र यसमा लगानी गरेको समूह, एनआरएन पार्टनर पनि आइडिया फर नेपालको साथमा छ । निर्देशक खानले भने, “देश र माटोप्रतिका जिम्मेवारी जगाउनु पनि हो । सुरुमा विदेशीले नेपालमा लगानी गर्न नमान्दा अफ्ठेरो भएको थियो तर अब सबै तयार भएका छन् । हामीले मुलुकको समृद्धीका लागि केही पक्कै गर्ने छौँ ।”

कम्पनीले नेपालमा ठुलो परियोजनाका लागि लगानी भिœयाउन अन्तराष्ट्रिय रूपमा विश्वसनीयतासमेत बढाउने उनको विश्वास छ।

(टक्सार म्यागजिन, वर्ष ३, अङ्क ८, पुस २०८० बाट)