अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरू हटाउन प्रधानमन्त्री सकारात्मक


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरू हटाउन सरकार सकारात्मक रहेको बताएका छन ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युतीय सवारी साधन, चार्जिङ स्टेसन र नेपालमा अटोमोबाइल सम्बन्धी उद्योगहरूको सम्भावनाहरूका सम्बन्धमा विशेष चासो राखेका थिए ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरूबारे संक्षिप्त रूपमा चर्चा गर्दे अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन र हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिनु पर्ने माग राखेका थिए ।

त्यस्तै, बैंकहरूबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन भ्यालु टु रेसियो हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने, चालु पूजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुदाहरूलाई समेत तत्कालै संशोधन गरिनु पर्ने आग्रह गरे ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल उद्योग समस्या र समाधानहरूबारे प्रिजेण्टेशन मार्फत विस्तृत रूपमा जानकारी गराए। उक्त छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।