आजदेखि धरहरामा निशुल्क पार्किङ


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरामा निर्माण भएको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिने भएको छ ।

काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेपछि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए ।

यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको व्यवस्था मिलाएको उनको भनाइ छ । सरोकारवालासँगको समन्वयमा आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेको पाण्डेले जानकारी दिए ।

पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुने भएको छ । शहीद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिने उनले बताए ।

गएको दशैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लवहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।