राष्ट्र बैंकले गर्‍याे ६ ओटा बैंक तथा वित्तीय संस्थालाई कारबाही


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा ३ ओटा वाणिज्य बैंक, २ ओटा विकास बैंक र एक ओटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।

प्रिमियर दर बढाएर ग्राहकहरुबाट ब्याज असुल गरेको, कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, पुनरतालिकीकरण र÷वा पुनरसंरचना गर्दा निष्कृय कर्जाहरुको समेत पुनरतालिकीकरण ÷पुनरसंरचना गरी उक्त कर्जाहरुलाई सक्रिय कर्जामा वर्गिकरण गरेको, कर्जाको जोखिमभार कम प्रदान गरी गलत रिपोर्टिङ गरेको, पुँजी पर्याप्तता अनुपात वास्तविक भन्दा अधिक रिपोर्टिङ गरेको कारण ३ ओटा वाणिज्य बैंकलाई कार्बाही गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक, प्रभु बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई कारबाही गरेको हो । चालू आर्थिक वर्षको यो अवधिमा यी बैंक तथा वित्तीय संस्थालाई पहिलो पटक कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले राष्ट्र बैंकको व्यवस्था विपरीत प्रिमियम दर बढाएर ग्राहकहरुबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिएपनि ग्राहकको खातामा फिर्ता नगरेको, आ.व.२०७९÷८० मा पुनःनिर्देशन विपरीत प्रिमियम दर बढाईएको, व्यवसाय संचालनमा नरहेको, लिलामी प्रकृयामा रहेको, डिरई रेसियो नमिलेको अवस्थामा समेत पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, पुनरतालिकीकरण र÷वा पुनरसंरचना गर्दा निष्कृय कर्जाहरुको समेत पुनरतालिकीकरण ÷पुनरसंरचना गरी उक्त कर्जाहरुलाई सक्रिय कर्जामा वर्गिकरण गरेको पाईएकोले ग्लोबल आइएमई बैंकलाई कारबाही गरेको जनाएको छ ।

राष्ट्र बैंकले ग्लोबल आई.एम.ई बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको छ भने त्यस कार्यहरुको समयमै निगरानी तथा अनुगमन नगरी सञ्चालक÷सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व सम्बन्धी निर्देशन पालना नगरी राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गरेकोले बैंकको सञ्चालक समितिलाई सचेत गराएको जनाएको छ ।

त्यस्तै प्रभु बैंकलाई राष्ट्र बैंकको एकीकृत निर्देशन, २०७९ को बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, व्यवस्था विपरीत प्रिमियम दर वृद्घि गरी व्याज असुलउपर गरेको र पुँजी पर्याप्तता गणना गर्दा विभिन्न कर्जाहरुमा क्यापिटल एडिक्वेसी फ्रेमवर्कको व्यवस्था विपरीत कर्जाको जोखिमभार कम प्रदान गरी गलत रिपोर्टिङ गरेकोले नेपाल राष्ट्र बैकले कारबाही गरेको हो । राष्ट्र बैंकले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको र सञ्चालक÷सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व सम्बन्धी निर्देशन पालना नगरी राष्ट्र बैंकबाट जारी निर्देशन उल्लङ्घन गरेकोले सचेत गराईए उल्लेख गरिएको छ ।

यस्तै, बैंकको पुँजी पर्याप्तता अनुपात गणना गर्दा यस बैंकको निर्देशन पालना नगरी प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाई तथा जोखिमभारित सम्पत्ति न्युन कायम गरी पुँजी पर्याप्तता अनुपात वास्तविक भन्दा अधिक रिपोर्टिङ गरेको, कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेकोले हिमालयन बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको र बैंकको सञ्चालक समितिले यथोचित समयमा उक्त विषयहरुमा व्यवस्थापनको अनुगमन नगरेकाले बैंकको सञ्चालक समितिलाई सचेत गराएको छ ।

मुक्तिनाथ विकास बैंकलाई वास्तविक धनी पहिचान गर्ने संयन्त्रको स्थापना नभएको तथा निरन्तर अनुगमन (अन गोइङ डेलिजेन्स) गर्नुपर्ने निर्देशन उल्लंघन गरेकाले १० लाख रुपैयाँ नगद जरिवाना गराएको उल्लेख गरेको छ ।

गरिमा विकास बैंकका सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठ र अन्य व्यक्ति समेतको नाममा सञ्चालनमा रहेको संयुक्त खातामा बिमा कम्पनी खोल्ने उद्देश्यले सर्वसाधारण तथा वित्तीय संस्थाका संस्थापक समेतबाट आवेदन रकम संकलन गर्ने कार्य भएको तथा सो खाताबाट विभिन्न चरणमा खर्च भएको अवस्थामा पनि ती कारोबारहरुको अनुगमन नभएको देखिएकोले संस्थाको संस्थागत सुशासन र संचालकको आचरण कार्यान्वयनको अवस्था समेत कमजोर देखिएकोले संचालक डा.आनन्द प्रसाद श्रेष्ठलाई राष्ट्र बैंकले सचेत गराएको छ । उक्त कारोबारको पर्याप्त अनुगमन नभएकोले संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको उल्लेख गरेको छ ।

रिलायन्स फाइनान्सका सञ्चालक कुशप्रसाद मल्ली तथा अन्य व्यक्तिहरुको संयुक्त खाता र निजको व्यक्तिगत खातामा निजको व्यवसायिक कारोबारहरु भएको, खाताको सिडीडी नियमित रुपमा अद्यावधिक समेत नभएकोले संस्थाको संस्थागत र सञ्चालकका ेआचरण कार्यान्वयनको अवस्था समेत कमजोर देखिएको हुनाले सञ्चालक कुशप्रसाद मल्लीलाई सचेत गराएको र उक्त कारोबारको पर्याप्त अनुगमन नभएकोलेसंस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।