रिलायन्स स्पिनिङ मिल्सको कटअफ मूल्य ९१२ रुपैयाँ कायम


काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रणालीमार्फत योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको सेयरको शिलबन्दी आवेदन खोलिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालयमा सोमबार योग्य संस्थागत लगानीकर्ताले कम्पनीको सेयर खरिदको लागि दिएका शिलबन्दी आवेदनहरु आज खोलिएको बिक्री प्रबन्धक ग्लोबल आइएमआई क्यापिटलले जनाएको छ ।

कम्पनीले निष्काशन गरेको उक्त सेयरमा अधिकतम रेञ्जमा कटअफ मूल्य कायम भएको छ । उक्त बोलपत्रमा आवेदन दिएक कुल ६४ योग्य संस्थागत लगानीकर्ता मध्ये १८ लगानीकर्ताले अधिकतम मूल्य ९१२ रुपैयाँमा धेरै कित्ता सेयरको लागि आवेदन दिएको हुँदा सोही मूल्यमै कटअफ मूल्य निर्धारण भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिसेयर न्यूनतम ६०८ देखि अधिकतम ९१२ रुपैयाँसम्मको मूल्य सीमा (रेञ्ज) तोकेको थियो । यससीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो ।

सर्वसाधारण लगानीकर्तालाई भने संस्थागत लगानीकर्तालाई जारी भई कायम कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन हुनेछ । यससँगै सर्वसाधारणलाई कम्पनीको सेयर प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा जारी हुनेछ ।

सर्वसाधारणलाई निष्काशन गरिने सेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहि अनुसार कम्पनीले पहिलो चरणमा कुल निष्काशन गर्न लागिएको सेयर १९ लाख २६ हजार ६ सय कित्ताको ४० प्रतिशतले हुन आउने सेयर ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको हो ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि कुल १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासन गर्नेछ । रिलायन्स स्पिनिङ मिल्स बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने दोस्रो कम्पनी बनेको छ । यस अघि सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रणाली मार्फत सेयर जारी गर्ने छन् ।