सीमा क्षेत्रमा कडाई तथा व्यवस्थित गर्न गृहमन्त्रीलाई नाडाको आग्रह


काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पदाधिकारीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालको सीमा क्षेत्रमा कडाई तथा व्यवस्थित गर्न आग्रह गरेका छन्।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल भारतबिच खुल्ला सीमानाको कारणले भारतबाट भारी मात्रामा अनधिकृत रूपमा लुब्रीकेन्टस, टायर तथा अटोमोबाइल स्पेयर पार्टस् आयात भएको बताउँदै कडाई गर्न आग्रह गरेको हो ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका महासचिव सुरेन्द्र उप्रेतीले अवैद्य रूपमा लुब्रीकेन्ट र टायरटयूव आयात हुँदा नेपालका उद्योगहरूलाई गम्भिर असर परिरहेको र नेपालमा बसेर आधिकारिक व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरू आफनो व्यवसायमा टिकीरहन कठिन हुँदै गएकाले नेपालको सीमा क्षेत्रमा कडाईका साथै व्यवस्थित गर्नुपर्ने बताए ।

अध्यक्ष चौधरीले नेपालमा मालबाहक भारतीय ट्रक निर्बाध ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाबाट नेपाली व्यवसायीलाई अप्ठेरो परेको बताए।

नेपालका मालवाहक सवारी साधनहरूको विक्री र त्यसको व्यवसायमा गम्भीर असर परेको भन्दै भारतीय मालवाहक साधनलाई नेपालमा २४ घण्टाको मात्र समयावधि र भन्सार बिन्दुबाट अधिकतम् १६ किमीसम्म मात्र सन्चालन गर्न दिने व्यवस्थाका लागि आग्रह गरेका छन्।

छलफलको अन्त्यमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयावधीलाई ७२ घण्टा पु¥याइएको र सीमा नाकामा भईरहेको समस्याहरूबारे गहिरो चासो राख्दै यस्ता समस्याहरूको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताए ।