‘बाह्य लगानीलाई देशमा कसरी भित्राउन सकिन्छ भन्ने विषय महत्वपुर्ण’


काठमाडाैँ । नेपाल बैंकर्स संघ र युएसएआडी ट्रेड एण्ड कम्पिटिटीभनेसको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिकाे दोस्रो त्रैमासिक समीक्षाका लागि हेजिङ सुविधा र सुझावहरूको लागि संस्थागत संयन्त्रको कार्यान्वयनकाे लागि अन्तरक्रिया कार्यक्रम भएकाे जनानइएकाे छ ।

कार्यक्रमको मुख्य उदेश्य मौद्रिक नीति २०८०/८१  मा भएका केहि नीतिगत व्यवस्था र त्यसका कार्यान्वयनका पक्षहरुको बारेमा अन्तरक्रिया तथा हेजिङ्ग संग सम्बन्धित विषयमा छलफल रहेको जनाइएकाे छ ।

कार्यक्रममा संघका अध्यक्ष सुनिल के.सी.ले नेपालको आर्थिक विकासको लक्ष्य, अन्तराष्ट्रिय जगतमा गरिएको प्रतिबद्धता परिपूर्तिको लागि ठुलो लगानी खाँचो पर्न जाने परिस्थितिमा बाह्य लगानीलाई देशमा कसरी भित्राउन सकिन्छ भन्ने विषय महत्वपुर्ण रहेको बताए ।

नेपालले लिएको दिगो विकासको लक्ष्य परिपूर्तिको लागि पनि नेपालमा ठुलो स्रोत चाहिने र देश भित्रका बैंक तथा वित्तीय संस्थाले मात्र त्यसको परिपूर्ति गर्न नसक्ने परिस्तिथिमा बैदेशिक लगानी अपरिहार्य रहेकाले सरकारले यसको सहजताको लागि थप पहल गर्नुपर्ने धारणा राखेका थिए ।

अर्थ मन्त्रालयका सह-सचिव महेश आचार्यले हेजिङ्गको विषयमा नेपाल सरकार गम्भीर रहेको र आपसी समझदारी र सहकार्यबाट यसलाई प्रभावकारी बनाउन तयार रहेको बताए ।

कार्यक्रमका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले छलफलका क्रममा उठेको विषयहरुलाई सम्बोधन गर्दै देशका उद्योगी, व्यवसायी र बैंक सबैको मनोबल उच्च भएमा मात्र देशको आर्थिक विकासमा यसले सकारात्मक प्रभाव पार्ने कुरामा नेपाल राष्ट्र बैंक स्पष्ट रहेको र सोहि अनुसार नेपाल राष्ट्र बैंकले नीति निर्देशन तर्जुमा गर्ने गरेको बताए ।

हेजिङ्गको  सम्बन्धमा थप प्रकाश पार्दै उनले अहिले पनि बैंकहरुले कुनै न कुनै रुपमा हेजिङ्गको  सुविधा उपभोग गर्दै आएको र बैंकले आफ्नो क्षमता तथा प्राविधिक दक्षताको आधारमा त्यसको उपयोग गर्न सकिने कुरा बताए ।

बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले मौद्रिक नीतिमा भएका केही नीतिगत व्यवस्थाहरु र हेजिङ्ग जस्तो महत्वपूर्ण बिषयमा सम्बन्धित सबै सरोकारवालाहरु एकै ठाउँमा छलफल गर्ने वातावरण बनेकाले कार्यक्रम निकै उपलब्धिमूलक भएको बताए ।