निक्षेपमार्फत २० अर्ब रुपैयाँ तान्दै राष्ट्रबैंक


काठमाडौं । बैंक तथा बित्तीय संस्थामा पैसा थुप्रिन थालेपछि नेपाल राष्ट्रबैंकले धमाधम झिक्न थालेको छ ।

आज बिहीबार तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको राष्ट्रबै्रंकले जनाएको छ ।

केन्द्रीय बैंकले बुधबार १४ दिन अवधिमा २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्काशन गरेको थियो भने बिहीबार ७ दिन अवधिका लागि ३० अर्बको निक्षेप लिएको छ ।

शुक्रबार पनि १४ दिन अवधिको २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भई अन्तर बैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकरण प्रयोग गर्छ । पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्थामा छ ।

अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेकाले राष्ट्र बैंकले बजारबाट पैसा झिक्न क्रम बढाएको हो । माघ १४ गतेसम्म बैंकहरुको अन्तर बैंक ब्याजदर २.८६ प्रतिशत रहेको छ । केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ ।

अनलाइन बिडिङ सिस्टममार्फत माघ १८ गते दिउँसो ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी फागुन ३ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने राष्ट्रबैंकले जनाएको छ ।