काठमाडौँ । लगानीकर्ताहरु माघ महिनामा सेयरबजारले सकरात्मक लय समात्ने सिजनको रुपमा लिने गर्दछन् । तर यसपटक भने माघमा पनि बजार हरियो हुन सकेन ।
महिनाको कारोबारको पहिलो दिन माघ २ गते ५४.५४ अंकले बढेको सेयरबजार भोलिपल्ट ३ गते भने १२.१० अंकले घट्यो ।
तर, कारोबार रकम भने एक वर्ष यताकै उच्च पौने १० अर्ब रुपैयाँ सम्म भयो । माघ २ गते ८ अर्ब २ करोडको कारोबार भएको थियो भने ३ गते ९ अर्ब ७६ करोडको रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
पछिल्लो १ वर्षमा दैनिक कारोबार ५० करोडसम्म झरेको बजारमा माघ महिनामा भने दैनिक ३ अर्ब माथिकै कारोबार भई रहेको नेपाल स्टक एक्सचेन्जको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो दुई दिन बढेको बजारमा लगानीकर्ता विश्वस्त नहुँदा केही करेक्सन आएको सेयर विज्ञहरुले बताए । तर त्यसपछिको कारोबारको ६ दिन लगातार बजार घट्यो ।
माघ २ गते मंगलबार ५४ अंकले बढेर २१७५.१७ अंकमा पुगेर बन्द भएको बजार साताको अन्तिम दिन बिहीबार २१५५.८२ अंकमा झरेर कारोबार बन्द भएको छ ।
पहिलो साता कारोबारको तीन दिनमा एक दिन बजार ५४ अंकले बढ्यो भने बाँकी २ दिन बजार १९.३४ अंकले घट्यो ।
माघको दोस्रो साता भने बजार कारोबारको पाँचै दिन घटेको छ । ७ गते २५.६३ अंकले घटेर २१३०.१८ अंकमा बन्द भएको नेप्से परिसूचक कारोबारको अन्तिम दिन बिहीबार ३.९४ अंकले घटेर २०८४.०९ अंकमा झरेको छ । यो साता सेयरबजार ७१.७१ अंकले घटेको छ ।
त्यस्तै माघ तेस्रो साता भने बजारमा झिनो आशा देखिएपनि टिक्न सकेन । साताको कारोबारको पहिलो ३ दिन बजार ३५.५१ अंकले बढेको बजार अन्तिम दुई दिन भने ५२.५९ अंकले घट्यो ।
यसर्थ माघ महिना लगानीकर्ताले अपेक्षा गरे अनुरुप सुखद् हुने नदेखिएको जानकारहरु बताउँछन् । बजारमा विश्वस्त हुन नसक्दा इन्भेष्टर भन्दा ट्रेडर हावी भएको उनिहरुको भनाई छ ।
देशको परिस्थितिले ढुक्क भएर लगानी गर्ने वातावारण नहुँदा ठुला लगानीकर्ताहरु बजार प्रवेश गर्न नसकेको उनिहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्