छ महिनामा खाद्यका हजार बढी नमुना सङ्कलन, प्रतिकूल पाइएका ८९ विरुद्ध मुद्दा


काठमाडौँ । चालू आर्थिक वर्ष २०८०,८१ को दोश्रो त्रैमासिक अवधिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसूरमा ८९ वटा मुद्दा दर्ता गरेको छ।

खाद्य ऐन तथा नियमावली विपरित कार्य गर्ने उद्योग तथा फर्मको विरुद्ध जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको हो।

दायर गरिएका ८९ मुद्दा मध्ये अर्धवार्षिक अवधिमा प्रशोधित पिउने पानीका ३८ वटा, दुध तथा दुग्ध पदार्थका १० वटा र तेल घ्यूका ६ वटा रहेका छन्।

मुद्दा दर्ता भएकोमा मसलाजन्य पदार्थ ४ वटा, मिठाईका ४ वटा, खाद्यान्न दलहनका ४ वटा, महका ३ वटा, दानाका ३ वटा, चाउ चाउका २ वटा र अन्य खाद्य पदार्थका १५ वटा रहेको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन्।

खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दाहरु सम्वन्धित जिल्ला अदालतमा र अन्य मुद्दाहरु सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरूमा दायर हुने व्यवस्था रहेको छ ।

कुल ८९ मुद्दामध्ये ३५ वटा मुद्दा दुषितका, ३२ वटा मुद्दा न्यून गुणस्तरका, १० वटा मुद्दा लेबल सम्बन्धिका र १२ मुद्दा खाद्य ऐन नियम निर्देशिका उलङ्घन सम्बन्धि छन्।

खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन र गुणस्तर नियमनतर्फ अर्थवार्षिक अवधिमा अनुगमन, प्रयोगशाला परिक्षण तथा मुद्दा दर्ता लगायतका कार्य गरिएको हो ।

विभागका अनुसार अर्थवार्षिक अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार एक हजार १६७ नमुनाहरू सङ्कलन भएको थियो। संकलित नमूनामध्ये ४५ वटा अर्थात् ४.९ प्रतिशत नमूना परिक्षण प्रतिवेदन प्रतिकुल पाइएको छ।

संकलित नमूनाहरूमध्ये अर्धवार्षिक अवधिमा खाद्यान्नरदलहनजन्यका ३१० वटा, तेल तथा घ्युजन्यका १२१ वटा, फल तथा सागपात जन्य पदार्थका १०६ वटा, दाना पदार्थका ४९ वटा, मसलाका ७८ वटा, नुनका १३ वटा र गुलियो पदार्थका ३१ वटा छन्।

नमूना संकलन गरिनेमा चिया कफिका ४८ वटा, दुध तथा दुग्ध पदार्थका ३७ वटा, प्रशोधित पिउने पानीका ३४ वटा, कन्फेक्सनरिका २३ वटा, मासुजन्य २ वटा र अन्य खाद्य पदार्थका ५२ वटा छन्।

कुल ९०४ वटा नमुनाहरूको विश्लेषण परिक्षण भएकोमा खाद्यान्न तथा दलहनजन्यका ७ वटा, चिया कफीका २ वटा, दुध तथा दुग्ध पदार्थका २ वटा, तेल घ्यूका १० वटा, फल तथा सागपात जन्य पदार्थका ८ वटा, प्रशोधित पिउने पानीका ५ वटा, गुलियो पदार्थ २ वटा, दाना ७ वटा र अन्य २ वटा नमूना प्रतिकुल पाइएको विभागले जनाएको छ।