४.४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बढिको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले अगामी फागुन १ गतदेखि ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका ४० लाख ४० हजार इकाई ऋणपत्र निष्काशन गर्ने भएको हो । १० वर्षे अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत व्याज प्राप्त गर्ने बैंकले जनाएको छ ।

कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात २४ लाख २४ हजार इकाइ व्यक्तिगत तवरबाट (५ प्रतिशत अर्थात ८० हजार ८ सय इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोसहित) र बाँकी ४० प्रतिशत अर्थात १६ लाख १६ हजार इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

उक्त ऋणपत्रमा लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् भने ऋणपत्र छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १५ गतेसम्म निष्काशन तथा बिक्री खुला रहनेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।