प्रक्रिया पूरा भएका कम्पनीका आइपीओ निष्कासन गर्न नरोकियोस्ः अध्यक्ष ढकाल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपीओहरु निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन्।

बुधवार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले करिव २५ देखि ३० वटासम्म कम्पनीहरु नियमित आइपीओमा लैजानका लागि लाइनमा रहेको भएपनि केही म्हिना यता रोकिएको बताए ।

उनले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आइपीओ निष्कासन गर्न दिनुपर्ने बताए । उनले धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपीओ निष्कासन रोक्नु नहुने बताए ।

उनले, ‘करिव २५ देखि ३० वटासम्म कम्पनीहरु जुन एउटा रेगुलर आइपीओमा लैजानका लागि लाइनमा छ । त्यो धेरै महिनाअघिबाट रोकिएको अवस्था छ । म के आग्रह गर्न चाहन्छु भने प्रिमियममा दिनुपर्ने, गम्भीर हिसावको इस्युहरु छन् भने भोलि अध्यक्ष ज्यु आइसकेपछि गर्ने होला तर एउटा प्रोसेसमा भएको र सबै पूरा गरेको एउटा चिठीको लागि मात्रै रोकिएका करिव मलाई लाग्छ ३० वटा जति कम्पनी लाइनमा छ ।

त्यस्तो किसिमको आइपीओमा जाने कुरा रोकिएको छ । हामीले मिडियामा पनि हेर्ने गरेका छाँै, यो इस्युहरु धेरै उठेको छ । प्रक्रियामा भएको र प्रक्रियाको अन्तिम चरणमा पुगेको कम्पनीलाई आइपीओ निष्कासन गर्न दिनुपर्छ ।’

अध्यक्ष ढकालले बैंकबाट लिएको ऋण तिर्नै पर्दैन भन्ने हिसावले सन्देश गइरहेको कुराले आम सर्वसाधारणलाई अन्योल सिर्जना गरेको बताए । उनले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनिरहेको बताए । नेपालमा लगानी गर्ने वातावरणमा विशेष ध्यान दिन आवश्यक रहेको बताए ।