बाँसबारी जग्गा प्रकरणका आरोपी चौधरीसहित तीनै जना रिहा


काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जना रिहा भएका छन् ।

मङ्गलवार काठमाडौं जिल्ला अदालतले दुई दिनभित्र अनुसन्धान सक्न र अनुसन्धान नसकिए पक्राउ गरिएकालाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । अदालतको उक्त आदेशअनुसार बुधवार तीनै जनालाई रिहा गरिएको सीआईबी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

चौधरीसहित रिहा हुनेमा बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुर रहेका छन् ।

मुलुकी अपराध संहिताको दफा १५ मा कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिए सरकारी वकिलको सहमतिमा अनुसन्धान अधिकृतले हाजिर जमानी वा तारेखमा छाड्न सक्ने व्यवस्था छ ।

बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना सिआईबीले माघ १६ गते पक्राउ गरेको थियो ।