अर्थमन्त्रीको दाबीः अहिले विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न बढी इच्छुक छन्


काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले विगतमा विदेशी लगानीकर्ताहरू नेपाल आफैँ सम्पर्कम जाँदा समेत उदासिन हुने गरेको भएपनि अहिले लगानी गर्न आफैँ खोज्दै आइरहेको बताए । उनले विदेशी लगानीकर्ताहरू इच्छुक भइरहेको समयलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताएका छन् ।

उनले वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई ग्राण्ड सक्सेस बनाउन आग्रह गरे । अर्थमन्त्री महतले विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाको सम्मेलन नेपालमा गर्न विश्व बैंक तयार भएको र केही दिनमै औपचारिक पत्र आउने बताए ।

महतले सो सम्मेलनमा ९२ देशका प्रतिनिधि, वल्र्ड बैंकका प्रमुखको उपस्थिति हुने बताउँदै लगानी सम्मेलनलाई सफल बनाउनसके सो सम्मेलनमा फाइदा हुने दाबी गरे ।