पहिलो दिन ५० हजारले अवलोकन गरे ‘क्यान इन्फोटेक २०२४’


काठमाडौँ । काठमाडाैँकाे भृकुटीमण्डपमा हिजो (बिहिवार) देखि सुरू भएको ‘क्यान इन्फोटेक २०२४’ मेलामा पहिलो दिन नै ५० हजार जनाले अवलोकन गरेका छन् ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा हिजो (माघ २५) देखि माघ २९ गतेसम्म सुरू भएको मेलाको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् । उद्घाटन अगावै मेला अवलोकनका लागि सर्वसाधारण टिकट काउन्टरमा भिड लागेका थिए ।

पछिल्लो समय क्यान इन्फोटेक मेला युवा पुस्ताको रोजाइमा पर्न थालेको पाइन्छ । मेलामा कलेजका विद्यार्थीहरूको बाक्लो भिड लागेको थियो । २०० स्टल रहेको मेलामा सबै स्टलमा उत्तिकै भिड लागेको देखिन्थ्यो ।

मेलामा मोबाइल, क्यामेरा, ल्यापटप, यूपीएस, पेन ड्राईभ, विभिन्न मोबाइल तथा कम्प्यूटरका सफ्टवेयर, विभिन्न कम्पनीका इन्टरनेट प्याकेज, अफर लगायत प्रर्दशनीमा राखिएको क्यान महासंघका महासचिव चिरञ्जीवि अधिकारीले बताए ।

क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदारका अनुसार इन्फोटेकमा ‘स्टार्ट अप’लाई निःशुल्क स्टल दिइएकाे र नेपाल रोबोटिक्स एकेडेमीले क्यान महासंघसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी’ रोबटको बेटा संस्करण सार्वजनिक हुने कार्यक्रम छ।

क्यान महासंघका महासचिव चिरञ्जीवि अधिकारीले यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकट खरिद गर्न सकिने व्यवस्था गरेको र यस अन्तर्गत सर्वसाधारणका लागि एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको बताए ।

२९औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा एस पावर बीपीई प्रालि रहेको छ भने प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेशन फाउण्डेशन, डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फो डेभलपर्स र मर्कन्टाइल अफिस सिष्टम प्रालि रहेका छन् ।

यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी) , इन्सेसेन्ट रेन प्रालि, हिमकमरएनटेक र पीएनवई रहेका छन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया प्रालि, इन्नोभेसन पार्टनरमा ए ८ रेस ग्राफ नेपाल प्रालि, इन्स्यारेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स प्रालि, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेशन पार्टनमा पाटन कलेज फर प्रोफेशनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन् ।