एन आई सी एशिया बैंकः ब्याज फिर्तामा जालझेल 


२०७९ साउनमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको एक वर्षको सबै प्रकारका कर्जाको विवरण नेपाल राष्ट्र बैंकले माग्यो । प्राप्त विवरण हेर्दा नियमविपरीत ब्याजदर बढाइएको देखिएपछि राष्ट्र बैंकले स्थलगत सुपरीवेक्षण गर्न टोली पठायो । सुपरीवेक्षणमा खटिएको टोलीले पनि बैंक तथा वित्तीय संस्थाले नियमविपरीत ब्याज बढाएको भेट्यो । 

राष्ट्र बैंकले २०७९ असोजमा बैंक तथा वित्तीय संस्थाहरूलाई नियमविपरीत लिएको ब्याज फिर्ता गर्न निर्देशन दियो । आधारदरसँगै प्रिमियम बढाएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई बढाइएको प्रिमियम फिर्ता गर्न लगाएको थियो । निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले बढी लिएको ब्याज फिर्ता पनि गरे । 

बैंकले ऋणीलाई कर्जा दिने समयमा सम्झौता गरेको प्रिमियम ऋणीले कर्जा भुक्तानी नगरेसम्म बढाउन पाइँदैन तर बैंक तथा वित्तीय संस्थाले प्रिमियम बढी असुलेका कारण ब्याज फिर्ता गर्न लगाइएको थियो । 

“ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्र (अफर लेटर)मा आधार दरमा थप गर्ने प्रिमियम दर स्पष्ट रूपमा उल्लेख गर्नु पर्छ। प्रिमियम दर तय गर्दा कर्जाका लागि आवेदन प्राप्त हुँदाको समय प्रकाशित प्रिमियम दरभन्दा बढी तय गर्न पाइने छैन,” राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख छ ।

कतिपय बैंक तथा वित्तीय संस्थाले ब्याज फिर्ता नगरेको पाइएपछि राष्ट्र बैंकको सुपरीवेक्षण विभागले फेरि २०७९ मङ्सिर १२ गते पत्र काटेर १५ दिनभित्र ब्याज फिर्ता पठाउन र फिर्ता नगरे साधारण सभा तथा वित्तीय विवरणको प्रारम्भिक स्वीकृत गर्न नदिने चेतावनी दियो । राष्ट्र बैंकले ब्याज फिर्ताको विवरण राष्ट्र बैंकमा पठाउनसमेत भनेको थियो । 

राष्ट्र बैंकका सुपरीवेक्षण विभागका निर्देशक रोशनकुमार सिग्देलले सुपरीवेक्षण र निर्देशनपछि बैंक तथा वित्तीय संस्थाबाट ऋणीहरूको चार अर्ब रूपैयाँ बराबरको रकम फिर्ता गराएको जानकारी दिए । 

कतिपय अवस्थामा प्रिमियम बढाउन पाइन्छ । ऋणीले जुन उद्देश्यका लागि कर्जा लिएको हो, सोही उद्देश्यमा कर्जा प्रयोग नगरेको र धितो सम्पत्तिमा हानी नोक्सानी पु¥याउने कार्य गरेको पाइए हर्जना दर थप गर्न पाउने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

“एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरेपश्चात् प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः बृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन,” एकीकृत निर्देशनमा भनिएको छ, “तर, ऋणीले जुन उद्देश्यका लागि कर्जा लिएको हो सो उद्देश्यमा कर्जा प्रयोग नगरेको र धितो सम्पत्तिमा हानी नोक्सानी पु-याउने कार्य गरेको पाइएमा उप बुँदा २ बमोजिमको हर्जना दर थप गर्न यो व्यवस्थाले बाधा पु-याएको मानिने छैन ।”

बैंक तथा वित्तीय संस्थाहरूले भने राष्ट्र बैंकको नियमविपरीत जुन उद्देश्यका लागि कर्जा लिइएको थियो, सोही उद्देश्यमा कर्जाको प्रयोग गर्दा पनि ब्याज उठाएको पाइएको थियो । यदि ऋणीले थप कर्जा लिएमा वा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने नयाँ कर्जाको हकमा नयाँ प्रकाशित प्रिमियम लागु हुन्छ । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकका यी सबै नियम विपरित प्रिमियमदर बढाएर ब्याज असुलेका थिए ।

एन आई सी एशिया बैंकको बदमासी  

बैंक तथा वित्तीय संस्थाले नियमविपरीत उठाएको ब्याज राष्ट्र बैंकले फिर्ता त गरायो । एन आई सी एशिया बैंकको एउटा शाखाले भने एक जना ऋणीलाई झुक्याएर फेरि रकम फिर्ता गराएको पाइएको छ । एन आई सी एशिया बैंक वीरगञ्ज पावरहाउस शाखामा भएको बदमासीको विवरण भेटिएको छ । 

सो बैंकको शाखा कार्यालयको एक ऋणीको खातामा फिर्ता आएको ब्याज छुटको रकम विभिन्न बाहाना बनाएर कर्मचारीले नै फेरि फिर्ता लिएको खुलेको हो । केन्द्रीय कार्यालयकै मिलेमतोमा यो घटना भएको हो वा शाखा कर्मचारीले बदमासी गरेका हुन यो प्रस्ट भएको छैन । पीडितले पटक पटक गुनासो गर्दा पनि बैंकको केन्द्रीय कार्यालयले वास्ता नगरेपछि घटना शङ्कास्पद बनेको छ । 

के भएको थियो ?

वीरगञ्जका उमेशकुमार चौहानले उनी र उनको बुवाको नाममा दर्ता भएको फार्मको नाममा एन आई सी एशिया बैंक पावरहाउस वीरगञ्ज शाखाबाट कर्जा लिएका थिए । उमेशको नाममा रहेको ‘श्याम गल्ला भण्डार’को नामबाट ३ करोड ८५ लाख रूपैयाँ र बुवा श्यामप्रसाद चाईको नाममा रहेको ‘कृष गल्ला भण्डार’को नामबाट ३ करोड ८५ लाख गरेर ७ करोड ७० लाख रूपैयाँ कर्जा लिइएको थियो ।  

कर्जा लिँदा ८.२५ प्रतिशत रहेको ब्याजदर पछि १६.७० प्रतिशतसम्म पुयाइएको उमेशले बताए । कर्जा लिँदा जति प्रिमियम छ, कर्जा चुक्ता नहुँदासम्म बढाउन पाउँदैन तर बैंकले आधार दरसँग प्रिमियम बढाएर कर्जाको ब्याज निर्धारण गरेपछि नेपाल राष्ट्र बैंकले फिर्ता गर्न लगाएको थियो । एन आई सी एशिया बैंकले उमेश र उनको बुवाको फर्मको खातामा ‘इन्ट्रेस रिबेट’ भनेर फिर्ता गरेको बैंकको स्टेटमेन्टबाट देखिन्छ ।

बढी लिएको ब्याज बैंकले फिर्ता त ग¥यो तर यसबिचमा शाखा प्रबन्धकले ‘चलखेल’ गरेर सबै रकम झिकिदिएको भन्दै उमेशले नेपाल राष्ट्र बैँकमा उजुरीसमेत गरेका छन् । उमेशको गुनासो छ, “एन आई सी एशिया बैंकको पावरहाउस शाखा प्रबन्धक हरिकृष्ण पौडेलले ‘अरूको पैसा तपाइँकाे खातामा आएको भनेर’ झुक्याएर चेक मागेर रकम निकालिदिए ।” नेपाल राष्ट्र बैँकको स्रोत अनुसार एन आई सी एशिया बैँकलाई यसबारे पत्र पठाइसकिएको छ। 

उमेशका अनुसार शाखा प्रबन्धक पौडेलले उमेशलाई ‘तपाईंको खातामा अरू व्यक्तिको पैसा आएकोले खाली चेकमा हस्ताक्षर गरेर दिन’ आग्रह गरे । उमेशले हस्ताक्षर गरेर खाली चेक शाखा प्रबन्धक पौडेललाई दिए । उमेशले भने, “मैले पनि विश्वासको आधारमा चेक दिएँ । मैले चेक दिएपछि उहाँले ‘इन्ट्रेस रिबेट’ भनेर हाम्रो खातामा आएको जति रकम थियो, त्यति नै निकाल्नु भयो । अडिट गर्ने बेलामा स्टेटमेन्टमा विवरण देखिएपछि बल्ल थाहा भयो ।” 

बैंक स्टेटमेन्ट हेर्दा ‘इन्ट्रेस रिबेट’ भनेर श्याम गल्ला भण्डारको खातामा ३४ लाख ७६ हजार रूपैयाँ र कृष गल्ला भण्डारको खातामा ३३ लाख ५९ हजार रूपैयाँ गरेर ६८ लाख ३५ हजार रूपैयाँ आएको देखिन्छ । श्याम गल्ला भण्डारको. खातामा २० जुन २०२३ मा १ लाख १७ हजार रूपैयाँ र ३ जुलाई २०२३ मा इन्ट्रेस रिबेट भनेर ३३ लाख ५९ हजार रूपैयाँ आएको छ । कृष गल्ला भण्डारको खातामा १२ जुलाई २०२३ मा ३३ लाख ५९ हजार रूपैयाँ इन्ट्रेस रिबेट भनेर आएको छ । यी दुवै खाताबाट झुक्याएर बैंकका प्रबन्धक पौडेलले ‘इन्ट्रेस रिबेट’ भनेर आएको ६७ लाख १८ हजार रूपैयाँ निकालिदिएको उमेशको दाबी छ । 

स्टेटमेन्टमा उल्लेख भएअनुसार ‘इन्ट्रेस रिबेट’ भनेर जति रकम आएको छ, त्यसमा फरक नपर्ने गरी मिलाएर दुवै फर्मको खाताबाट रकम निकालिएको छ । श्याम गल्ला भण्डारको खाताबाट २०२३ जुलाई ५ मा उमेश चौहानको नामबाट १ लाख ४० हजार रूपैयाँ, सोही दिन अर्को चेकबाट ९ लाख रूपैयाँ निकालिएको छ । सन् २०२३ जुलाई ९ मा उमेश चौहानको नामबाट ९ लाख रूपैयाँ, जुलाई १० मा उमेशको भाइको नाममा ९ लाख ५० हजार रूपैयाँ र जुलाई ११ वीरेन्द्र कुँवरको नाममा ४ लाख ६९ हजार रूपैयाँ निकालिएको छ । उमेश वीरेन्द्र कुँवर भन्ने व्यक्ति नचिन्ने बताउँछन् । 

श्याम गल्ला भण्डारको खाताबाट चार दिनमा पटक पटक गरेर झिकिएको थियो भने कृष गल्ला भण्डारको खाताबाट सन् २०२३ जुलाई ७ मा एकैदिन फरक फरक चेकबाट पैसा निकालिएको छ । यसमा सबै नाम किर्र्तेे राखिएको उमेशको दाबी छ । 

कृष गल्ला भण्डारको खाताबाट सन् २०२३ जुलाई १२ मा उमेश चौहानको नाममा ९ लाख रूपैयाँ, उमेशकै नाममा अर्को चेकबाट ९ लाख रूपैयाँ, उमेशको आमा कोशिलादेवी चाईको नाममा ६ लाख ५९ हजार रूपैयाँ र उमेशको भाइ किसनकुमार चौहानको नाममा ९ लाख रूपैयाँ एकैदिन निकालिएको छ । श्याम गल्ला भण्डार र कृष गल्ला भण्डारको खाताबाट ६७ लाख १८ हजार रूपैयाँ निकालिएको छ । चौहानले भने, “भाइ किसनकुमार चौहान, आमा कोशिलादेवी चाई र नचिनेको व्यक्ति वीरेन्द्र कुँवरको नाममा पनि पैसा निकालेको छ । यो सबै किर्ते हो ।”

रकम निकालेपछि के भयो ?

एन आई सी एशिया बैंक पावर हाउस शाखाका शाखा प्रबन्धक हरिकृष्ण पौडेलले उमेशसँगको कुराकानीमा ‘होम लोन’को ब्याज छुटको रकम फिर्ता आए पनि अन्य कर्जामा नआएको बताएको अडियोमा सुन्न सकिन्छ । शाखा प्रबन्धक पौडेलले खाता व्यवस्थापन गर्नको लागि पैसा हालेकोले त्यो पैसामा दाबी नगर्नसमेत भनेका छन् । 

उनले ‘होमलोन’मा मात्र ब्याज छुटको रकम फिर्ता आएको बताउँदै उमेशमाथि दबाब सिर्जना खोजेको देखिन्छ । 

श्याम गल्ला भण्डारको खातामा २० जुन २०२३ मा जम्मा भएको १ लाख १७ हजार रूपैयाँलाई होम लोनमा देखिएको बढी ब्याज फिर्ताको रूपमा शाखा प्रबन्धक पौडेलले व्याख्या गर्न खोजेको देखिन्छ । राष्ट्र बैंकले भने सबै कर्जामा बैंक तथा वित्तीय संस्थाले लिएको बढी ब्याज फिर्ता गर्न लगाएको बताउँछ । 

उमेश आफूले फिर्ता पाएको ब्याज अडिट गर्दा मात्रै अरू कसैले निकालेको थाहा पाएको दाबी गर्छन् । अडिट गर्दा थाहा पाएपछि उनले प्रबन्धक पौडेलसँग यस विषयमा सोधेको बताउँछन् । 

“फर्म अडिट गर्ने क्रममा बैंकबाट लिएको स्टेटमेन्ट अडिटरलाई दिँदा ‘इन्ट्रेस रिबेट’ भनेर आएको रकमको कर तिर्नुपर्ने थाहा पाएको हो,” उनले भने, “बैंकमा बुझदा ब्याज फिर्ता नपाएको, यो रकम अरूकै भएकोले बैंकको हिसाब मिलाउनको लागि त्यसरी गर्नुपरेको बैंकले भन्यो । बैंकका शाखा प्रबन्धक पौडेलले कहाँ ३३ लाख रूपैयाँ रिबेट आउँछ ? त्यो तपाईंको पैसा नै होइन भन्नु हुन्छ ।”  उमेशले आफूलाई झुक्याएर शाखा प्रबन्धक पौडेलले पैसा निकालेको दाबी गरेका छन् । उमेशका अनुसार धेरैको यस्तो भएको पौडेलले भनेका थिए । 

यस विषयमा बैंकका माथिल्लो पदाधिकारीलाई जानकारी गराउँदा आधारदरबाहेकको सम्पूर्ण ब्याज माफ गरी हिसाब मिलाउने आश्वासन दिएको चौहानले बताए । यस विषयमा बुझ्नको लागि टक्सारले बैंकको प्रमुख कार्यकारी अधिकृत र गुनासो अधिकारीसँग पटक पटक सम्पर्क गर्दा, गर्न खोज्दा उनीहरू सम्पर्कमा आएनन् ।

बैंकका शाखा प्रबन्धक पौडेलले उमेशसँग यो कुरा उठाए अप्ठेरो हुने भन्दै यसलाई बन्द गर्नको लागि बारम्बार आग्रह गरेका छन् । उनले भनेका छन्, “तपाईंको खाताबाट निकालेर अरूको खातामा मिलाएको हो । ब्याज होम लोनको खातामा मात्रै आएको छ ।” 

शाखा प्रबन्धक पौडेलले उमेशलाई धोका नदिएको, कालोसूचीमा पर्नबाट बचाएको भन्दै बाहिर कसैसँग यो कुरा गरे अप्ठेरो पर्ने बताएका छन् । पावर हाउस शाखा प्रबन्धक पौडेलले चौहानलाई प्रलोभनसमेत देखाएको अडियोमा सुन्न सकिन्छ । उनले बैंकले पैसा नदिने तर आफ्नो घरजग्गा पास गरिदिनेसमेत बताउँछन् ।  

शाखा प्रबन्धक भन्छन्, “३३–३३ लाख रूपैयाँ तपाइँको खातामा पैसा हालिदिन्छ त बैंकले ? मेरो बा आमाको, मेरो बालबच्चको यत्रो कसम खाँदा पनि तपाइँलाई हुँदैन ? असारमा सगुन होटलमा तपाइँलाई बोलाएर बचाउँदाखेरी मलाई यहाँ अहिले फटाहा बनाउनु हुन्छ ?”

यस विषयमा बुझनको लागि टक्सार ले हरिकृष्ण पौडेलसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन् । पौडेलको ठाउँमा शाखा प्रबन्धकको रूपमा शङ्कर ढकाललाई पठाइएको छ । उनले यो विषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने, “मलाई यो विषयमा थाहै भएन । जानकारी छैन।” ब्याज छुटको रकम हिनामिना गरेको तत्कालीन प्रबन्धक पौडेललाई कहाँ खटाइएको छ भनेर खुलेको छैन ।

के हुन्छ कारबाही ?

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट यदि ‘इन्ट्रेस्ट रिबेट’ भनेर गएको रकम बैंकले नै झुक्याएर लिएको प्रमाणित भए कानुनअनुसार कार्बाही हुने बताउँछन् । 

“बैंक वा वित्तीय संस्थाको संस्थापक, सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख, पदाधिकारी, कर्मचारी वा अन्य कुनै सम्बन्धित व्यक्तिले यो ऐन वा राष्ट्र बैंक ऐन वा सोअन्तर्गत जारी भएको नियम, विनियम वा दिइएको निर्देशन वा आदेश वा सर्तको उल्लंघन गरेमा वा राष्ट्र बैंकले दफा ९९ को उपदफा (३) को खण्ड (ख) बमोजिम दिएको निर्देशन कार्यान्वयन नगरेमा राष्ट्र बैैंकले उल्लङ्घनको प्रकृति तथा गाम्भीर्य हेरी दशलाख रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ,” राष्ट्र बैंक ऐनको दफा १०० मा उल्लेख छ ।

एन आई सी एशिया बैंक  राजविराज शाखाका प्रमुख जेल चलान

किर्र्तेे ऋण प्रकरणमा एन आई सी एशिया बैंकको राजविराज शाखाका प्रमुख जेलै परेका छन् । बैंकका तत्कालीन शाखा प्रबन्धक सन्तोषकुमार यादवसहितको मिलेमतोमा गत माघ २२ मा सरकारी कागजात किर्ते गरी बनाइएको फर्र्जी जग्गाधनीलाई दुई करोड ८० लाख रूपैयाँ ऋण प्रवाह गरिएको प्रकरणमा सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलाशले राजविराज नगरपालिका–७ का यादव तथा राजविराज नगरपालिका–९ का मो. सदाम, सप्तरी रूपनी गाउँपालिका–५ का दीपककुमार सुतिहारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । प्रबन्धक यादवसहित बैंक कर्मचारी, जग्गा व्यवसायी, लेखापढी व्यवसायी र मालपोत कार्यालय राजविराजका कर्मचारीको मिलेमतोमा राजविराज–८ का रवीन्द्रकुमार यादवको नाममा रहेको १० कठ्ठा ५ धुर जग्गा राजविराज–९ की बसिरन खातुनको नाममा नक्कली धनी पूर्जा बनाइएको खुलासा भएको छ । एन आई सी एशिया बैंकले सोही धनी पूर्जाका नाममा ऋण स्वीकृत गरेको थियो ।

एन आई सी एशिया बैंकमा सरकारी कागजात किर्ते गरी बनाइएको नक्कली जग्गाधनीको ऋण मागलाई बैंकले स्वीकृत गरेको थियो । नक्कली जग्गाधनी खडा गरी लिएको ऋणकर्जा २ करोड ८० लाख रूपैयाँमध्ये २ करोड ३० लाख रूपैयाँ ऋण प्रवाहसमेत भएको थियो । वास्तविक जग्गाधनीले थाहा पाई घटना बाहिरिएलगत्तै बैंकका प्रबन्धक यादवसहित बैंकका केही कर्मचारी र व्यवसायीहरू तत्काल फरार भएका थिए ।

जग्गाधनी यादवका अनुसार राजविराज नगरपालिका–८ बस्ने यादवका नाममा रहेको साविक प्रसवनी गाविस–(९ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको नक्कली जग्गा धनी प्रमाण–पत्र बनाएका थिए । आरोपितहरूले साविक मलेठ गाविस ७ हाल राजविराज नगरपालिका–९ की वसिरन खातुनलाई नक्कली जग्गा धनी बनाएका थिए ।

किर्ते गरी बनाएको सोही नक्कली जग्गा धनी प्रमाण–पत्रको आधारमा बैंकले रोक्का नम्बर १५१२०९८० एनएल ०००२२९० मा नक्कली जग्गा रोक्का गरेको थियो । राजविराजस्थित घरेलु तथा साना उद्योग कार्यालयमा खातुनकै बुहारी आसमा खातुनको नाममा दर्ता रहेको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’लाई बैंकले गत माघ ९ गते सो ऋण प्रवाह गरेको थियो । प्रबन्धक यादवले स्वीकृत ऋणमध्ये माघ २२ गतेदेखि २४ गतेसम्ममा २ करोड ३० लाख रूपैयाँ निकासा गरेका थिए ।

पहिलो त्रैमासमै सिइओलाई नसिहत

एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमासमै कारबाहीमा परेका छन् । ग्राहकहरूसँग बढी लिएको ब्याज (रिस्क प्रिमियम) सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न राष्ट्र र्बैंकले निर्देशन दिए पनि कतिपय ग्राहकको खातामा फिर्ता नगरेको भन्दै नेपाल राष्ट्र बैंकले एन आई सी एशिया बैंकका सिइओलाई नसिहत दिएको हो । 

राष्ट्र बैंकको एकीकृत निर्देशनविपरीत ग्राहकहरूसँग बढी लिएको ब्याज (रिस्क प्रिमियम) सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकोमा कतिपय ग्राहकको खातामा फिर्ता नगरेको एवं आ.व. २०७८/७९ र २०७९÷८० मा पुनः निर्देशनविपरीत ब्याज (रिस्क प्रिमियम) बढाएको, क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ गरेकोले एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको हो ।

साथै, यस्तो कार्यहरूको समयमै निगरानी तथा अनुगमन नगरी सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व पालना नगरेर राष्ट्र बैंकबाट जारी भएको निर्देशन उल्लङ्घन गरेकोले संचालक समितिलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।

_______________

टक्सारकाे डिजिटल सस्क्राइबका लागिः https://thuprai.com/taksar/

वार्षिक ग्राहक (भाैतिक) का लागि सिधा सम्पर्कः 9851227753 ।। 9851338919 

______________