सरकारले घटायो बजेटको आकार, ८७ प्रतिशत मात्रै खर्च हुने अनुमान


काठमाडौँ । । सरकारले चालू आर्थिक वर्ष २०८०\०८१ को बजेट २ खर्ब २१ अर्ब रुपैयाँले घटाएको छ । योसँगै अब कुल बजेटको आकार १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँको हुने भएको छ।

आज (सोमबार) मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको लागि ल्याइएको बजेटको ८७ प्रतिशत मात्रै खर्च हुने अनुमान अर्थमन्त्री प्रकाशशरण महतले गरेका छन्।

अर्थमन्त्री डा. महतले चालू आवका लागि कुल बजेट १७ खर्ब ५१ अर्ब १७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेका थिए।

आम्दानीको स्रोत घटेको र खर्च गर्न समेत नसकेकाले लक्ष्य घटाइएको मन्त्री महतले बताए।

योसँगै चालूतर्फ ८८.८४ प्रतिशत, पूँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुने अर्थमन्त्री महतको संशोधित लक्ष्य छ।

चालू आर्थिक वर्षमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड, वैदेशिक अनुदान तर्फ ४० अर्ब १२ करोड, वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्बको स्रोत व्यवस्थापन हुने अर्थमन्त्री महतले उल्लेख गरेका छन्।